केपी ओली प्रचण्ड माधव नेपाल एमाले


अझै चार लाख बालबालिका विद्यालय बाहिर, विद्यालय नदेख्नेमा काठमाण्डौका पनि

सहयात्रा टिभी

काठमाण्डौ । सरकार आधारभूत तहको शिक्षाको पहुँच देशका सबै जिल्ला र ग्रामीण क्षेत्रसम्म पुगिसकेको बताइरहेका बेला देशभरका चार लाख बालबालिका विद्यालय बाहिर नै रहेको पाइएको छ ।

नेपालको संविधानले कक्षा आठसम्म (आधारभूत तह) लाई अनिवार्य र निःशुल्क गरे पनि अझै धेरै बालबालिका विद्यालय हातामा आउन सकिरहेका छैनन् । विकट र दुर्गम जिल्लाको मात्र नभई शिक्षा र चेतनास्तर उच्च रहेको भनिएको काठमाण्डौंका बालबालिका समेत विद्यालय पहुँच बाहिर रहेको अध्ययन्हरुले देखाएको छ । अहिलेसम्म साढे चार लाख बालबालिका विद्यालय बाहिर रहेका छन् । विद्यालय तह अर्थात् कक्षा १२ सम्मका भने झण्डै १५ लाख बालबालिका विद्यालय बाहिर रहेका छन् । शिक्षा विभागको पछिल्लो तथ्याङ्क सन् २०१६–१७ को फ्लास १ रिपोर्टअनुसार विद्यालय उमेर समूहका बालबालिकामध्ये चार लाख ३९ हजार ४१ जना विद्यालय बाहिर छन् । जसमध्ये दुई लाख १८ हजार सात सय ७८ छात्रा र दुई लाख २० हजार दुई सय ६३ छात्र छन् । कक्षा–१ मा भर्ना हुने उमेरका बालबालिका अझै ३० हजारभन्दा बढी विद्यालय बाहिर छन् ।

जसमध्ये छात्र १५ हजार एक सय ७४ र छात्रा १५ हजार एक सय ७० छन् । संविधानमा आधारभूत तहलाई अनिवार्य र निःशुल्क व्यवस्था गर्नुअघि नै शिक्षा मन्त्रालयले केही जिल्लामा यसको पाइलटिङ गरेको थियो । तर, पनि उपयुक्त कार्यक्रम सञ्चालन नहुँदा लाखौँ बालबालिका अझै विद्यालय बाहिर छन् ।  काठमाण्डौं उपत्यकामा मात्रै अनिवार्य शिक्षा लिनुपर्ने उमेर समूहका २६ हजार २ सय ४३ बालबालिका विद्यालय बाहिर रहेको तथ्याङ्कले देखाएको छ । जसमा १७ हजार एक सय ९३ छात्र र ९ हजार ५० छात्रा रहेका छन् । सबैभन्दा बढी काठमाण्डौंमा २० हजार चार सय १५ बालबालिका विद्यालय बाहिर छन् । त्यसैगरी ललिपुरमा दुई हजार नौ सय ८५ र भक्तपुरमा दुई हजार आठ सय ४३ बालबालिका विद्यालय बाहिर रहेको विभागको तथ्याङ्कमा उल्लेख छ । कक्षा १० सम्म अध्ययन गर्ने उमेर समूहका बालबालिकाको संख्या ३३ हजार ७ सय ९० छ ।

प्रकाशित : 16 November, 2017

प्रतिक्रिया दिनुहोस्