केपी ओली प्रचण्ड माधव नेपाल एमाले


एनालग टिभी बन्द हुँदा ३० लाख उपभोक्ता प्रभावित

सहयात्रा टिभी

काठमाण्डौं । सूचना तथा सञ्चार मन्त्रालयले एनालग प्रविधिको टेलिभिजन प्रशारण बन्द गरेपछि ३० लाख ग्राहक प्रभावित बनेका छन् । मन्त्रालयबाट खटिएको अनुगमन टोलीले बुधबारदेखि विभिन्न केबल टेलिभिजनप्रदायक कम्पनीमा अनुगमन गरी एनालग टिभी बन्द गरेको हो ।

एनालग टेलिभिजन बन्द भएसँगै काठमाडौं र ललितपुर गरी झन्डै ३० लाख ग्राहक प्रभावित भएका छन् ।  मन्त्रालयबाट केबल टेलिभिजन शाखाका शाखा प्रमुख विष्णुकुमारी भट्टराई र फ्रिक्वेन्सी विभागका प्रमुख अनुप नेपालको नेतृत्वमा टोली अनुगमनमा गरेको थियो । टोलीले अनुगमनका क्रममा सुबिसु केबल नेटवर्क प्रालि, सोनिङ केबल टीभी, काठमाण्डौं केबल, जावलाखेल केबल नेटवर्क, स्पेसटाइम नेटवर्क, सीईसी केबल नेटवर्क प्रालि र स्काई केबल टिभी प्रालिले प्रदान गरिरहेको एनालग टेलिभिजन सेवालाई बन्द गरिदिएको थियो ।

एनालग टिभी बन्द भएसँगै काठमाडौं र ललितपुरमा करीब ३० लाख ग्राहक प्रभावित भएको नेपाल केबल टिभी महासंघका अध्यक्ष सुधिर पराजुलीले बताए । उनका अनुसार काठमाडौं उपत्यकाका २५ प्रतिशत ग्राहकले मात्र अहिलेसम्म डिजिटल सेटअप बक्स प्रयोग गर्ने गरेका छन् । डिजिटल सेटअप बक्स नभएका ग्राहकले टिभी हेर्न नपाउने भएका हुन् । उनका अनुसार व्यवसायीको रूपमा हेर्ने हो भने सरकारले चालेको कदम एकदमै उचित हो । ‘यो व्यवसायी आफैंले माग गरेको विषय भएकाले हामी यसमा सहमत छौं’–पराजुलीले भने–‘तर चुनावको मुखमा ग्राहकलाई सूचनाबाट बञ्चित गराउनु उपयुक्त देखिँदैन ।’

प्रकाशित : 16 November, 2017

प्रतिक्रिया दिनुहोस्