गाउँ–गाउँमा गज्जबका होमस्टे

सहयात्रा टिभी

इलाम । इलामको श्रीअन्तुमा पुग्नेहरुको मन लोभ्याउनेमध्येको एउटा त्यहाँको सुन्दर पोखरी हो । थुम्का–थुम्काको चियाबारी र त्यसबीचको पोखरी ।   पोखरीको किनारमा रहेका सुरिला सल्लाका रुखहरुले पोखरीको थप सुन्दरता बढाएको छ ।  पोखरीको निलो पानीमा देखिने सल्लाको प्रतिबिम्बले अन्तु पुग्ने जोकोहीको मन लोभ्याउँछ ।

अब्बल कलाकारको कलाझै लाग्ने अन्तुको सुन्दरतामा पछिल्लो पटक अर्को सुन्दरताको आयाम थपिएको छ । पोखरीभन्दा केहि माथि बनाइएको बाँसको स–साना र चटक्क परेको कटेजले अन्तुको मुहार नै उज्यालो बनाएको छ । नेपालकै उत्कृष्ट पर्यटकीय गन्तब्यमा पर्ने अन्तु पुग्ने पर्यटकहरुलाई लक्षित गरेर इलामकै युवाहरुले कटेज बनाएका हुन् । स्थानीय स्रोत साधनबाटै बनाइएको कटेजले त्यहाँ पुग्ने पर्यटकलाई सुविधा पनि थपेको छ । होमस्टेहरु मात्रै रहेको अन्तुमा इलामकै केही युवाहरु मिलेर कटेज बनाएपछि आकर्षण थपिएको हो । इलाम सदरमुकामका युवा र केही स्थानीय मिलेर अन्तु कटेज बनाउनु भएको हो । पाँच जनाको साझेदारीमा ३५ लाख रुपैयाँ लगानी गरेर कटेज निर्माण गरेको लगानीकर्ता बताउाछन् । ‘यसअघि अन्तुमा एउटा पनि कटेज थिएन’–कटेजका राजन ताम्राकारले भने–‘यत्तिको ठाउँमा कटेज बनाउँदा राम्रो हुन्छ भनेर लगानी गरेका हौं ।’

आठ रोपनी जग्गा १५ बर्षका लागि लिजमा लिएर राजन ताम्राकार, हेमप्रसाद पौडेल, कमलप्रसाद घिमिरे र धरणीधर घिमिरेको संयुक्त लगानीमा कटेज बनाइएको हो । कटेजमा दिनमा सरदर १० जना पर्यटक पुग्ने गरेको उनले बताए ।   ‘कटेज सञ्चालनमा ल्याएको तीन वर्ष मात्र टेक्दैछ’–राजन रौसिए–‘कोहि बेला २०–३० जनासम्म पर्यटक हुन्छन्, दिनको सरदर १० जति पर्यटक हुन्छन् ।’ अहिले कटेजले रेष्टुरेण्ट र आवास दुबै सुविधा दिंदैछ । आवासकै ब्यवस्थाका लागि उनीहरुले चियाबारीको बीच–बीचमा स–साना कटेज बनाएका हुन् । अन्तु कटेजले ६० जनालाई त्यही अटाउने जनाइएको छ । अहिले दुई रोपनीमा कटेज बनाइएको छ । बाँकी रहेको ६ रोपनी क्षेत्रमा ‘फार्म हाउस’ बनाउने उनीहरुको लक्ष्य छ ।  जिल्लामा नै सबैभन्दा धेरै पर्यटकको चहल–पहल हुने कन्याम नजिकै पनि सुविधा सम्पन्न होटल बनाउन थालिएको छ । झापा दूधेका नगेन्द्र रिजालले चार करोड लगानीमा  होटल बनाउँदैछन् । सूर्योदय नगरपालिका–११ को पाल्टाँगीमा निर्माण शुरु भएको होटल ‘स्टर्न ब्ल्यु’ निर्माणको अन्तिम चरणमा छ । कन्याम पर्यटकीय क्षेत्र भए पनि सुविधा सम्पन्न होटल नभएकाले आफूले होटल बनाउन थालेको रिजालको भनाई छ । ‘इलामलाई मान्छेले पर्यटकीय क्षेत्र भन्छन्, घुम्न पनि आउँछन्’–उनले भने–‘तर, होटल राम्रो भएन भनेर फर्किन्छन्, त्यसैले एउटा सुविधा सम्पन्न होटल बनाउन थालेको हुँ ।’

चार रोपनी चार आना जग्गामा निर्माण गरिने होटलमा ‘स्टिम वार्थ’ लगायतका सुविधा हुने बताइएको छ । आवासका लागि २० कोठा हुने होटलमा मिटिङ्ग र पार्टीका लागि समेत हलहरु बनाउने रिजालले बताए । कन्याम नजिकै अर्को होटल बनाउनका लागि लगानीकर्ताहरुले जग्गा लिएका छन् । तर, त्यसको भने निर्माण शुरु भएको छैन । पर्यटकको भीडभाड लाग्ने ठाउँमा मात्रै होइन गाउँको एकान्त ठाउँमा पनि पर्यटन लक्षित लगानी शुरु भएको छ । इलाम माइमझुवाका पुरन गुरुङ्गले ५५ लाख रुपैयाँको लगानीमा माइमझुवामा होमस्टे बनाएका छन् । गुरुङ्गले एक वर्षदेखि होमस्टे सञ्चालनमा ल्याएको भए पनि निर्माणको कतिपय काम पूरा हुन बाँकी छ । माइमझुवा–६ मा छिन्तापु होमस्टे सञ्चालन गर्दै आएका उनले पर्यटकको खाँचो नरहेको बताए । ‘महिनामा सरदर एक सय जना जति पर्यटक आउँछन्’–उनले सुनाए–‘बंगाली पर्यटक पनि बाक्लै आउन थालेका छन् ।’

स्थानीय सल्लाको काठ लगाएर आकर्षक कोठाहरु तयार गरेको गुरुङ्गको होमस्टेमा छ वटा कोठाहरु छन् । ती कोठाहरुमा ३५ जना अटाउन सकिन्छ । शैक्षिक भ्रमण, कृषि भ्रमणका लागि पर्यटक आउने गरेको उनले बताए । इलाम सदरमुकामदेखि उत्तरमा रहेको माइपाताल गाउँमा पनि राम्रै लगानीमा अर्को होटस्टे बनाइने भएको छ । इलाम सदरमुकाममा अग्र्यानिक क्याफे चलाउँदै आएका देउकुमार राईले माइपातालमा होमस्टे बनाउन थालेका हुन् । शुरुमा २० लाख रुपैयाँ लाग्ने अनुमान गरेर होमस्टे बनाउन थालेको उनले जानकारी दिए । स्थानीयस्तरमा उपलब्ध बाँस–काठबाटै होमस्टे बनाउने योजना राईले सुनाए । इको र एग्रो टुरिजमका लागि आफूले होमस्टे बनाउन लागेको राईको भनाई । गाउँ–गाउँमा होटलमा लगानी बढ्ने क्रमसँगै सदरमुकाममा पनि होटलमा खुलेर लगानी हुन थालेको छ । आफू बस्ने घरमा होटल सञ्चालन गरिंदै आएको इलाम सदरमुकाममा केही समययता होटलकै लागि लगानी भइरहेको छ । करीब करोडको लगानीमा निर्माण गरिएको होटल समिटले अहिले धेरै पर्यटकलाई सुविधा दिएको छ । त्यस्तै ग्रीनभ्युले पनि सुविधा सम्पन्न होटल बनाएर सेवा दिइरहेकोे छ  ।

प्रकाशित : 17 November, 2017

प्रतिक्रिया दिनुहोस्