केपी ओली प्रचण्ड माधव नेपाल एमाले


निर्वाचनको सबै तयारी पूरा

सहयात्रा टिभी

काठमाण्डौं । पहिलो चरण अन्र्गत मंसिर १० मा हुने प्रतिनिधिसभा तथा प्र्रदेशसभा निर्वाचनको सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ ।

पहिलो चरणमा ३२ जिल्लामा प्रचिनिधिसभातर्फ ३७ निर्वाचन क्षेत्र र प्रदेशसभातर्फ ७४ निर्वाचन क्षेत्रका लागि ३२ लाख २८ हजार ८७९ मतदाता निर्वाचनमा सहभागी हुँदैछन् । निर्वाचन पूर्व, निर्वाचनको समय र निर्वाचनपछिको गरी तीन तहको निर्वाचन सुरक्षा योजना बनेको नारायणप्रसाद दुवाडीले जानकारी दिए । उनका अनुसार पहिलो चरणमा नेपाली सेना बाहेक नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभाग, म्यादी प्रहरी गरी करीब ६० हजार सुरक्षाकर्मी निर्वाचनमा परिचालन गरिने छ । नेपाली सेनालाई भने आवश्यकताअनुसार परिचालन गरिने छ । यो बाहेक पनि आवश्यक परेको खण्डमा थप जनशक्ति परिचालन गर्ने गरी विभिन्न ठाउँमा सुरक्षा निकायलाई तयारी अवस्थामा राखिएको छ । निर्वाचनका लागि ९८ हजार म्यादी प्रहरी भर्ना गरिएकोमा पहिलो चरणमा २३ हजार ५ सय म्यादी प्रहरी खटिने छन् ।

निर्वाचनको समयमा सुरक्षा निकायले तीन घेरामार्फत सुरक्षा प्रदान गर्नेछ । जसअनुसार पहिलो भित्री घेरामा नेपाल प्रहरी र म्यादी प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरामा बाहिर नेपाली सेना रहनेछ । राष्ट्रिय अनुसन्धान विभागलाई भने सूचना संकलनमा परिचालन गरिने छ ।

मतदान केन्द्रको अवस्था हेरेर सुरक्षाकर्मी खटाउने तयारी भइरहेको प्रवक्ता दुवाडीले बताए । सामान्य मतदानस्थलमा प्रहरी र म्यादी प्रहरी गरेर आठ जना, संवेदनशील मतदान केन्द्रमा ११ र अतिसंवेदनशील मतदान केन्द्रमा १५ जनाका दरले प्रहरी र म्यादी प्रहरी परिचालन गरिने छ । निर्वाचनपूर्व खबर संकलन, कमाण्ड पोष्ट स्थापना, राजनीतिक दलसँगको समन्वय, मतदानस्थलको सुरक्षा व्यवस्थालगायतका निर्वाचन पूर्व तयारीका काम लगभग सकिएको उनले बताए ।

केन्द्रीय तहमा गृहमन्त्रीको नेतृत्वमा केन्द्रीय सुरक्षा योजना र जिल्लामा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा जिल्ला सुरक्षा समितिले सुरक्षा योजना बनेको छ । सोहीअनुसार सुरक्षा निकाय परिचालन हुनेछन् । खुला सीमाको फाइदा उठाउँदै हतियार, विष्फोटक पदार्थ तथा आपराधिक समूह भित्रिन सक्नेतर्फ ध्यान दिंदै भारत र चीनतर्फका सीमामा सुरक्षाजाँचमा कडाइ गरिएको छ । आवश्यकताअनुसार विभिन्न नाकामा तालिमप्राप्त कुकुरको समेत परिचालन गरिएको छ । निर्वाचनमा सुरक्षा निकायलाई आवश्यकताअनुसार परिचालन गर्न मतदानको केही दिनअघिदेखि नै विभिन्न स्थानमा सेनाको हेलिकप्टर तयारी अवस्थामा राखिने छ ।

प्रकाशित : 19 November, 2017

प्रतिक्रिया दिनुहोस्