चुनाव विरोधी गतिविधि गरेको भन्दै ११ जना पक्राऊ, पक्राउ पर्नेमा शिक्षक–शिक्षिका पनि

सहयात्रा टिभी

पाँचथर । आसन्न प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनको माहौल बिगार्ने गतिविधि गरेको आरोपमा पाँचथर प्रहरीले हालसम्म ११ जनालाई समातेको छ ।

पक्राउ पर्नेमा फिदिम नगरपालिका–१४ की टीकादेवी राई, फालेलुङ गाउँपालिका–५ की तारा राई र मौसम थाम्सुहाङ, फाल्गुनन्द गाउँपालिका–३ का विशाल राई, इच्छाबहादुर राई, एलिया नेम्वाङ छन् । त्यस्तै सोही गाउँपालिका–५ का जीतबहादुर चेम्जोङ, हिलिहाङ गाउँपालिका–२ का डिल्लीराम कटुवाल, इलामको फाकफोकथुम गाउँपालिका–१ का रुपनारायण अधिकारीसहित अन्य दुई जनालाई पनि नियन्त्रणमा लिइएको पाँचथर प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमध्ये टीकादेवी र रुपनारायण शिक्षक हुन् । उनीहरुलाई विद्यालयबाटै प्रहरीले नियन्त्रणमा लिएको थियो । उनीहरु निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको पाएपछि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख प्रहरी नायब उपरीक्षक वामदेव गौतमले बताए ।

उनीहरु उपर म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको पाँचथर प्रहरी प्रवक्ता प्रहरी निरीक्षक विज्ञान बस्नेतले जानकारी दिए । उनीहरुलाई विभिन्न मिति र स्थानबाट प्रहरीले नियन्त्रणमा लिएको हो । कुनै पार्टी वा संगठनमा आबद्ध रहेका आधारमा पक्राउ नगरिएको प्रहरी नायब उपरीक्षक गौतमले बताए । तर बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी जिल्ला संगठन समिति पाँचथरले भने प्रहरीले बिना कारण आफ्ना कार्यकर्तालाई धमाधम पक्राउ गरेको भन्दै विरोध गरिरहेको छ ।

प्रकाशित : 19 November, 2017

प्रतिक्रिया दिनुहोस्