फुटसल प्रतियोगितामा १६ टिम सहभागी हुने

सहयात्रा टिभी

काठमाण्डौं । काठमाण्डौको शंखमुलमा हुने फुटसल प्रतियोगितामा १६ टिम सहभागी हुने भएका छन् । आउँदो ६ गतेदेखि ८ गतेसम्म हुने प्रतियोगिताको सबै तयारी पूरा भएको छ । अन्फा बिटा एजुकेशनल कन्सल्टेन्सीले आयोजना गर्ने अन्तर कलेज फुटसल प्रतियोगिता शंखमुल फुटसल मैदानमा हुँदैछ ।

शिक्षा क्षेत्रमा काम गरिरहेको अल्फा बिटाले पहिलो पटक खेलकुद प्रतियोगिता आयोजना गर्न लागेको हो । अल्फा बिटाका कार्यकारी अध्यक्ष द्वीराज शर्माले पहिलो पटक आयोजना गरिएको यस प्रतियोगितालाई निरन्तरता दिने र भविष्यमा एक–एक वटा राष्ट्रियस्तरको क्रिकेट र फुटबल प्रतियोगिता आयोजना गर्ने लक्ष्य लिएको बताएका छन् । अन्तर कलेज फुटसलमा उपत्यकाका १६ कलेजहरुको सहभागिता छ । उनीहरुलाई चार समूहमा बिभाजन गरिएको छ । लिग कम नकआउटका आधारमा सञ्चालन हुने प्रतियोगितामा प्रत्येक समूहबाट दुई टोली क्वार्टर फाइनलमा प्रवेश गर्नेछन् ।

लिग चरणका खेलहरु २० मिनेटको हुनेछ भने क्वार्टर फाइनल खेलहरु २५ मिनेटको हुनेछ । त्यस्तै सेमिफाइनल र फाइनल खेलहरु ३० मिनेटको खेलाइने प्रतियोगिताका संयोजक राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान हरि खड्काले जानकारी दिए । प्रत्येक टोलीबाट १० खेलाडीले दर्ता गर्न पाउने छन् । प्रतियोगिताको बिजेताले १ लाख, उपबिजेताले ६० हजार र तेस्रो हुनेले ४० हजार पुरस्कार पाउने छन् । क्वार्टरफाइनलपछिको हरेक खेलका म्यान अफ द म्याचले १ हजार तथा प्रतियोगिताको उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताले १०–१० हजार पुरस्कार पाउने छन् ।

प्रकाशित : 20 November, 2017

प्रतिक्रिया दिनुहोस्