केपी ओली प्रचण्ड माधव नेपाल एमाले


दूध उत्पादनमा इलाम आत्मनिर्भर

सहयात्रा टिभी

इलाम । कृषि कर्ममा अगुवा इलाम पछिल्लोसमय थप प्रगति गर्दै दूधमा आत्मनिर्भर बनेको छ । इलाममा आर्थिक वर्ष २०७३-७४ मा एक लाख २३ हजार ७०० मेट्रिक टन दूध उत्पादन भएको छ । जिल्ला पशुसेवा कार्यालयको आव २०७३-७४ को प्रतिवेदनमा अघिल्लो आवको तुलनामा गत आवमा दूध उत्पादन करीब अढाइ प्रतिशतले बढेको छ ।

जिल्ला पशुसेवा कार्यालयका पशुसेवा प्राविधिक डिकबहादुर कार्कीले दूधबाट मात्र जिल्लाभरका किसानले चार अर्ब ७० करोड छ लाख आम्दानी गरेको बताए । गाई, भंँसी, चौंरी समेतबाट जिल्लामा प्रशस्तै आम्दानी हुने गरेको छ । जिल्ला पशुसेवा कार्यालयले गत वर्ष जिल्लालाई दूधमा आत्मनिर्भर बनाउने लक्ष्यका साथ विभिन्न कार्यक्रम सञ्चालन गरेको थियो । दूध उत्पादन वृद्धि गर्न कार्यालयले किसानलाई गोठ सुधार कार्यक्रम, नश्ल सुधार कार्यक्रम, अनुदानमा उन्नत जातका घाँस वितरण र विभिन्न कार्यक्रमका लागि अनुदानका कार्यक्रम सञ्चालन गरेपछि दूध उत्पादन वृद्धि हुन गई इलाम दूधमा आत्मनिर्भर बनेको हो ।

यहाँ उत्पादित दूधको मूल्य वृद्धि गर्न किसान हौसिएका छन् । दूधबाट घ्यू, छुर्पी, पनिर, ललीपप, चिजजस्ता दुग्धजन्य पदार्थ उत्पादन गरी त्यसबाट आम्दानी लिने गरेका छन् । उत्पादित दूधमध्ये २० प्रतिशत कच्चीरूपमा विराटनगर दुुग्ध वितरण आयोजनामा र अन्य निजी डेरी उद्योगमार्फत जिल्ला बाहिर निकासी हुने गरेको कार्यालयले जनाएको छ । जिल्लाका विभिन्न गाउँमा २३० वटा हाते डेरी सञ्चालनमा रहेको पशुसेवा कार्यालयले जनाएको छ । घरेलु डेरीले मुख्यगरी घ्यू, छुर्पी उत्पादन गरिरहेका छन् ।

इलाममा उत्पादित छुर्पी अमेरिका र युरोपमा समेत निर्यात हुने गरेको छ । सरकारी र निजी गरी जिल्लामा २४ वटा चिज कारखाना सञ्चालनमा छन् । गत आवमा २२ करोड ८० लाखको ४५६ मेट्रिक टन चिज, ५१ करोड चार लाख बराबरको ९२८ मेट्रिक टन घ्यू तथा २२ करोड २७ लाख ५० हजारको २९७ मेट्रिक टन छुर्पी उत्पादन भएको प्राविधिक कार्कीले बताएका छन् ।

प्रकाशित : 20 November, 2017

प्रतिक्रिया दिनुहोस्