राज्यमन्त्रीको घरमा बम विष्फोट

सहयात्रा टिभी

काठमाण्डौं । सहकारी तथा गरिबी निवारण राज्यमन्त्री चम्पादेवी खड्काको घरमा गएको राति बम विष्फोट गराइएको छ ।
मन्त्री खड्काको बाग्लुङ नगरपालिका–२ स्थित घरमा बम विष्फोट गराइएको हो ।

राति ११ बजे भएको विष्फोटबाट कुनै मानवीय क्षति भएको छैन । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ का उम्मेद्वार समेत रहेकी राज्यमन्त्री खड्का घरमै रहेको समयमा एक्कासी ठूलो आवाजसहित बम विष्फोट भएको बताइएको छ ।

घटनाबारे प्रहरीले अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक चन्द्रकुबेर खापुङले बताएका छन् । विष्फोट गराउने समूहको पहिचान नभए पनि चुनाव बहिष्कारमा लागेको नेपाल कम्युनिस्ट पार्टीले गराएको हुनसक्ने आशंका गरिएको छ ।

‘हामी अनुसन्धानमै छौं, चुनावी वातावरण बिगार्ने उद्देश्यले विष्फोटन गराएको देखिन्छ’–प्रहरी उपरीक्षक खापुङ भन्छन्–‘घटनामा संलग्नलाई कार्बाहीको दायरामा ल्याउँछौँ ।’ विष्फोट लगत्तै प्रहरीले घटनास्थललाई घेराउ गरेर राखेको छ । बम विष्फोटबाट घरअघि आँगनमा रहेको पर्खालमा क्षति पुगेको छ ।

प्रकाशित : 21 November, 2017

प्रतिक्रिया दिनुहोस्