केपी ओली प्रचण्ड माधव नेपाल एमाले


चुनावको संघारमै रातारात सिडिओको सरुवा !

सहयात्रा टिभी

काठमाण्डौं । सरकारले चुनाव आउन पाँच दिन मात्र बाँकी रहेका बेला रातारात प्रमुख जिल्ला अधिकारी (सिडिओ) हरुको सरुवा गरेको छ ।
सरकारले चुनावको संघारमै कैलाली, नुवाकोटलगायतका जिल्लामा प्रहरी प्रमुख फेरिए लगत्तै केहि जिल्लाका सिडिओहरुको पनि सरुवा गरेको हो ।

गृहमन्त्रालय स्रोतका अनुसार प्रधानमन्त्री शेरवहादुर देउवाको ठाडो आदेशमा सोमबार राति नै पहिलो चरणमा चुनाव हुने जिल्लाका सिडिओ सरुवा गरिएको हो छ । गृह मन्त्रालयको जिम्मेवारी समेत देउवा आफैंले सम्हालेका बेला चुनावलाई प्रभावित पार्ने गरी प्रमुख जिल्ला अधिकारी सरुवा भएको आशंका गरिएको छ । पहिलो चरणमा चुनाव हुने भोजपुर, सोलुखुम्बु, रसुवा र नुवाकोटका प्रमुख जिल्ला अधिकारी सरुवा भएका छन् । सोलुखुम्बुका सिडिओ भुपेन्द्र खत्रीलाई कांग्रेस नेता बलवहादुर केसीको दबाबमा सरुवा गरी उनको ठाउँमा सूर्य खनाललाई पठाइएको छ ।

त्यस्तै, भोजपुरमा चेतराज बरालको ठाउँमा फणिन्द्र दाहाललाई सिडिओ बनाएर पठाइएको छ । स्रोतका अनुसार रसुवाकी प्रमुख जिल्ला अधिकारी हरिदेवी पौडेलको ठाउँमा चोमेन्द्र न्यौपानेलाई पठाइएको छ । कांग्रेस नेताहरुको दबाबमा नुवाकोटमा जगदिशराज बराललाई हटाएर वीरेन्द्रकुमार यादवलाई पठाइएको छ ।

प्रकाशित : 21 November, 2017

प्रतिक्रिया दिनुहोस्