केपी ओली प्रचण्ड माधव नेपाल एमाले


ओली आउने दिन विप्लवको बन्द, विप्लवका २० कार्यकर्ता पक्राउ

सहयात्रा टिभी

दाङ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका नेता रामबहादुर थापा (बादल) लगायतका नेताहरू चुनावी अभियानका लागि दाङ आउने दिन पारेर नेत्रविक्रम चन्द (विप्लव) को नेकपा माओवादीले जिल्ला बन्द आह्वान गरेको छ ।

वाम गठबन्धनको चुनावी सभा र विप्लव माओवादीको बन्द आह्वान एकै दिन परेपछि जिल्लाको सुरक्षा अवस्था कडा पार्न थालिएको छ । बुधबार दाङमा वामगठबन्धनले आयोजना गर्ने चुनावीसभालाई सम्वोधन गर्न पूर्व प्रधानमन्त्री समेत रहेका ओली, बादल, विना विभागीय मन्त्री तथा दाङ निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य पदका उम्मेद्वार दाङ आउने कार्यक्रम छ ।

दाङको छिमेकी जिल्लाहरू रोल्पा, सल्यान र रुकुमलगायतका स्थानमा दिनानु दिन बम विष्फोटनका घटनाहरू बढ्न थालेपछि त्यो दाङमा हुन नपाओस् भनेर सुरक्षा सतर्कता बढाइएको दाङका प्रहरी प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक भुवनेश्वर तिवारीले बताए । पुरानो राप्ती अन्तर्गतको रोल्पा, रुकुम र दाङ नै माओवादीको उद्गमस्थल भएको हुँदा सुरक्षा सतर्कता अपनाइएको उनले बताए । यसैबीच दाङमा एकै दिन सात जना विप्लवका कार्यकर्ता पक्राउ गरिएको तिवारीले बताएका छन् । सोमबार दिउँसोसम्म दाङमा १३ जान विप्लवका कार्यकर्ता पक्राउ परेका थिए । तर, मंगलबार बिहानसम्म थप सात जना पक्राउ परेको हुँदा हालसम्म दाङमा बिप्लवका २० जना कार्यकर्ता पक्राउ परेको जिल्ला प्रवक्ता तिवारीले जानकारी दिएका छन् ।

यसैबीच नेकपा माओवादी दाङका जिल्ला सेक्रेटरी सविनले एक विज्ञप्ति प्रकाशित गरी पक्राउ गरिएका आफ्ना कार्यकर्तालाई विना शर्त तत्काल रिहा गर्न माग गरेका छन् । उनले विज्ञप्ति जारी गर्दै विभिन्न स्थानबाट आफ्नो पार्टीका १३ जना नेता कार्यकर्तालाई अनाहकमा गिरफ्तार गरिएको भन्दै अविलम्ब रिहाई गर्न दबाब दिने उद्धेश्यले जिल्ला बन्द आह्वान गरेको उल्लेख छ ।

प्रकाशित : 21 November, 2017

प्रतिक्रिया दिनुहोस्