चुनावको मुखमा रोजगारीका लागि भारत जाँदै कैलालीबासी, चुनाव भन्दा परिवार पाल्ने चिन्ता
कैलाली । मानिसको पहिलो आवश्यकता नै गाँस, बास र कपास हो । अहिले कैलालीका युवाहरु रोजगारीका लागि भारत जानका लागि देखिएको लर्कोले यसै कुरालाई प्रष्ट पार्छ ।
देशमा प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव आउन केही दिन मात्र बाँकी छ । देश चुनावमय भइरहेका बेला सुदूरपश्चिमका जनतालाई भने चुनावले छुन सकिरहेको छैन । हरेक वर्ष हिउँदको समयमा मजदुरी गर्न जाने स्थानीयवासीहरु यो वर्ष पनि हिउँद शुरु भएसँगै भारत जान थालिसकेका छन्् । बढ्दो बेरोजगार, गरिबीका कारण यहाँका थुप्रै युवायुवतीदेखि ज्येष्ठ नागरिकहरुसम्म भारतका विभिन्न ठाउँमा जाने गर्दछन् । रोजगारीसँगै उपचारका लागि भन्दै भारतको पुना, दिल्ली र मुम्बईमा समेत जाने गरेका छन् ।
कैलालीको प्रमुख नाका गौरीफन्टा भएर भारत जानेको संख्या दैनिक बढिरहेको छ । संयौको संख्यामा उनीहरु भारत गइरहेका छन् । धनगढी उपमहानगरपालिका–१४ का ५६ वर्षीय हर्कबहादुर सार्की चुनावको भन्दा पनि परिवारको चिन्ताले सताएका कारण रोजगारी र उपचारको लागि भन्दै भारतको रत्नागिरि जान लागेको बताउँछन् । उनले कसलाई भोट हालेर के हुने हो र भन्दै श्रीमती बिरामी भएको बताउँदै उपचार पनि हुने र केही आम्दानी पनि हुने भएका कारण भारत जान लागेको सुनाए ।
सार्की मात्रै होइन, कृष्णपुर नगरपालिका–२, कन्चनपुरका २४ वर्षीय हिक्मत रानाले नेताप्रतिको जनताको विश्वास नरहेका कारण भोट हालेर खेर फाल्नु भन्दा भारत गएर काम गर्दा घरको आर्थिक स्थितिमा समेत केही राहत पुग्ने भएका कारण गहु छरेर कामका लागि भारत जान लागेको बताएका छन् । उनले चार जना साथीसहित भारतको दिल्ली जान लागेको जानकारी दिए । रानाले पहिला पनि दिल्लीकै कपडा उद्योगमा काम गरेकोले अहिले पनि त्यही जान लागेको बताए । उनले चार–पाँच महिना काम गरेर फेरि गहुँ काट्ने बेलामा घर फर्कने बताए । भारतीय सीमा सुरक्षा बल गौरीफन्टाका सशस्त्र प्रहरी सहायक निरीक्षक सुमितकुमार सिंहले गत हप्तादेखि नै दैनिक ४–५ सयको संख्यामा नेपालीहरु भारततर्फ गईरहेको जानकारी दिए । उनले त्यसरी जानेमा परिवारसहित जानेको संख्या बढी रहेको बताए ।