अन्तत : जिम्बाबेका राष्ट्रपति मुगाबेले दिए राजीनामा, संसदमा खुशीयाली

सहयात्रा टिभी

अन्ततः जिम्बाबेका संसदका सभामुख ९३ वर्षीय राष्ट्रपति रोबर्ट मुगावेले राजीनामा दिएका छन् । ३७ वर्षदेखि सत्तामा रहेका मुगावेले मंगलबार राजीनामा दिएका हुन् । उनको राजीनामासँगै देशका सडक तथा संसदमा खुशीयाली मनाइएको बिबिसीले जनाएको छ । उनले राजीनामा दिएसंगै उनी विरुद्ध लगाइएको महाभियोगको प्रक्रिया स्थगित भएको छ ।

गत साता सेनाले सत्ता नियन्त्रणमा लिएपछि पनि पदबाट राजीनामा दिन नमानेका राष्ट्रपति रोबर्ट मुगाबेले मंगलबार भने आफ्नो पदबाट राजीनामा दिएका हुन् ।

मुगावेले आफूले स्वतन्त्र रुपमा तथा राजी खुशीले राजीनामा दिएको पत्रमा उल्लेख गरेका छन् । यस्तै शक्तिको सहज हस्तान्तरणका लागि पनि आफू तयार रहेको उनको राजीनामा पत्रमा उल्लेख छ । सन् १९८० देखि सत्तामा रहँदै आएका मुगावेको ठाउँमा अव पूर्व उपराष्ट्रपति एम्मर्सन मन्नगागावाले सत्ता सम्हाल्ने सत्तारुढ जानु–पिएफ पार्टीले जनाएको छ ।

यो महिनाको सुरुमा मुगावेले मन्नगागावालाई बर्खास्त गरेपछि जिम्बाबेमा राजनीतिक संकट गहिरिएको थियो । यस्तै गएको हप्ता सेनाले मुगाबेलाई घरमै नजरबन्दमा राखेर नदेखिने गरी सत्ता आफ्नो हातमा लिएको थियो । त्यसपछि मुगाबेमाथि राजीनामा दिन दबाब पर्दै आएको थियो ।

प्रकाशित : 22 November, 2017

प्रतिक्रिया दिनुहोस्