केपी ओली प्रचण्ड माधव नेपाल एमाले


पाँच वर्षे लक्ष्यसहित दोस्रो मेलम्ची आयोजना

सहयात्रा टिभी

काठमाण्डौं । पाँच वर्षमा आयोजना पूरा गर्ने लक्ष्यसहित सरकारले दोस्रो मेलम्ची खानेपानी आयोजना सञ्चालन गर्ने भएको छ ।
दोस्रो परियोजना सम्पन्न भएपछि काठमाडौंको पानी अभाव लगभग समाप्त हुने दाबी आयोजनाको छ । दोस्रो परियोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माण अन्तिम चरणमा छ ।

तीन महिनाभित्र डीपीआर तयार हुने आयोजना प्रमुख रामचन्द्र देवकोटाले जानकारी दिए । त्यसपछि दोस्रो आयोजना निर्माणको बाटो खुल्नेछ । ‘अहिले आयोजना क्षेत्रका केही स्थानमा चट्टानहरुको अवस्था अध्ययन हुँदैछ । त्यो सकेपछि रिपोर्ट फाइनल हुन्छ’–देवकोटाले भने । सरकारी योजनाअनुसार काम भए वैशाख ०७५ सम्ममा मेलम्चीको पानी काठमाडौं आइसक्नेछ । निर्माणाधीन मेलम्ची आयोजनामार्फत् आउने पानीको मात्रालाई तेब्बर क्षमतामा विस्तार गर्ने सरकारी योजना छ । त्यसका लागि मेलम्चीको पानीमा अन्य दुई वटा खोलाको पानी पनि मिसाइने छ ।

पहिलो चरणको मेलम्ची आयोजनाको काम सकिएपछि दैनिक १७ करोड लिटर पानी काठमाडौंमा वितरण हुनेछ । दोस्रो परियोजना तयार भएपछि उक्त परिमाण तेब्बर हुँदै ५१ करोड लिटर पुग्नेछ । दोस्रो आयोजनाबाट सिन्धुपाल्चोककै याङी र लार्केखोलाको पानीलाई राजधानीसम्म ल्याइने छ । पहिलो चरणमा आउने १७ करोड लिटरले काठमाडौंको सम्पूर्ण माग थेग्न नसक्ने भएकाले मेलम्चीमै अन्य दुई खोलाको पानी पनि थप्ने योजना रहेको देवकोटाले बताए ।

खानेपानी तथा सरसफाइ मन्त्रालयले दोस्रो आयोजनाका लागि करीब ३० करोड डलर अर्थात् ३१ अर्ब २० करोड रुपैयाँ खर्च हुने प्रारम्भिक अनुमान गरेको छ । एसियाली विकास बैंक (एडीबी)ले पनि मेलम्चीको दोस्रो परियोजनामा लगानी गर्न तयार रहेको घोषणा गरिसकेको छ । दोस्रो परियोजनाका लागि ११ किलोमिटर लामो सुरुङ खन्नुपर्छ । याङीको मुहानसम्म पहुँच मार्गको ट्रयाक तयार भइसकेको छ ।
उक्त आयोजना पाँच वर्षमा सक्ने सरकारी योजना छ । डीपीआर तयार भएपछि हेडवक्र्स र सुरुङ निर्माणका लागि टेन्डर आह्वान गरिने आयोजनाले जनाएको छ ।

प्रकाशित : 22 November, 2017

प्रतिक्रिया दिनुहोस्