केपी ओली प्रचण्ड माधव नेपाल एमाले


युरोपियन युनियनलाई निर्वाचन पर्यवेक्षणमा रोक लगाउन माग गर्दै आयोगलाई पत्र

सहयात्रा टिभी

कञ्चनपुर । आसन्न निर्वाचन अनुगमनमा युरापियन युनियनलाई रोक लगाउन माग गर्दै निर्वाचन आयोगमा पत्राचार भएको छ ।
कञ्चनपुरका मुख्य निर्वाचन अधिकृत न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यले युरोपियन युनियनका प्रतिनिधिलाई कञ्चनपुरमा निर्वाचन सम्बन्धि पर्यवेक्षणमा रोक लगाउन निर्वाचन आयोगमा सिफारिससहित पत्राचार गरेका हु्न् ।

कार्तिक अन्तिम सातातिर कञ्चनपुर आइपुगेको ३ सदस्यीय युरोपियन युनियनको टोलीमा लार्ज गोरान प्लागमेन, इभा सुहोननर नेपाली दोभाषे पुष्कर पाण्डे छन् । निर्वाचन आचारसंहिता विपरीत काम गरेको देखिएकाले उनीहरुलाई कञ्चनपुरका ३ वटै निर्वाचन क्षेत्रमा पर्यवेक्षण र अनुगमन गर्न नदिन मंगलबार निर्वाचन आयोगमा पत्र पठाइएको मुख्य निर्वाचन अधिकृत डा. आचार्यले बताए ।

‘युरोपियन युनियनको टोली जिल्ला अदालतमा प्रवेश गरी कर्मचारीहरुसँग जिल्लाको राजनीतिक अवस्था र अदालतको जनशक्तिलगायतका विषयमा सोधपुछ गर्ने जस्ता कार्य आपत्तिजनक भएको ठहर गर्दै इयुका प्रतिनिधिहरुलाई कञ्चनपुरमा निर्वाचन पर्यवेक्षणमा रोक लगाउन सिफारिस गरिएको हो’–मुख्य निर्वाचन अधिकृत आचार्यले भने–‘उनीहरुले अदालतको क्षेत्राधिकार मिचेको देखिएपछि कञ्चनपुरमा निर्वाचन सम्बन्धि अनुगमन गर्न नदिन आयोग समक्ष आवश्यक कार्वाहीका लागि सिफारिस गरेका हौं ।’ न्यायाधिश आचार्यले अदालतमा अनुगमन गर्ने भन्ने शब्द नै आपत्तिजनक भएको बताए । ‘निर्वाचन कार्यालयमा भेट भइसके पछि अदालत पस्नु भनेको अदालतको क्षेत्राधिकार मिच्नु हो, त्यसैले आचारसंहिता उल्लंघन गरेको ठहर गर्दै कार्वाही प्रक्रिया अघि बढाइएको हो’–उनले भने ।

प्रकाशित : 22 November, 2017

प्रतिक्रिया दिनुहोस्