केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सप्तरीमा त्रिपक्षीय प्रतिष्पर्धा, दाजु–भाइकै भिडन्त

सहयात्रा टिभी

सप्तरी । मधेस आन्दोलनको गढ मानिने सप्तरीमा आसन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा त्रिपक्षीय भिडन्त देखिएको छ । सप्तरीका चार वटै निर्वाचन क्षेत्रमा यस्तो प्रतिष्पर्धा देखिएको स्थानीय बताउँछन् ।

मंसिर २१ गते हुने दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा जिल्लाको क्षेत्र नं. १ मा मधेस गठबन्धनकातर्फबाट साझा उम्मेद्वार डा. सूर्यनारायण यादव र वाम गठबन्धका साझा उम्मेद्वार अशोककुमार मण्डलबीच कडा टक्कर छ । यस्तै नेपाली कांग्रेसका उम्मेद्वार रामदेव साहले पनि चुनावी प्रतिष्पर्धालाई प्रभाव पार्ने देखिएको छ ।

यसै क्षेत्रको प्रदेशसभा ‘क’ बाट मधेस गठबन्धनका एवम् राजपाका महासचिव राजकुमार लेखी, नेपाली कांग्रेसका डा. सुबोध पोखरेल, वाम गठबन्धनका एवम् एमाले २ नं. प्रदेश संयोजक सत्यनारायण मण्डल र स्वतन्त्र उम्मेद्वार प्रकाश खतिवडाबीच उस्तै भिडन्त छ । तर यो प्रदेशसभा क्षेत्रमा अन्ततः मधेस गठबन्धनका उम्मेद्वार लेखी र नेपाली कांग्रेसका उम्मेद्वार पोखरेलबीच रोचक चुनावी प्रतिष्पर्धा हुने स्थानीयको अनुमान छ । त्यसैगरी प्रदेशसभा ‘ख’ मा मधेस गठबन्धनका उम्मेद्वार एवम् राजपाका उपाध्यक्ष नवलकिशोर साह र नेपाली कांग्रेसका बद्रीमहात्मान यादवबीच प्रतिष्पर्धा हुने देखिएको छ । वाम गठबन्धनका उम्मेद्वार मो. सकिलले समेत चुनावी प्रतिष्पर्धालाई केही रोचक बनाउने आंकलन स्थानीय राजनीतिककर्मी बताउँछन् ।

त्यस्तै प्रतिनिधिसभा २ नं. क्षेत्रमा मधेस गठबन्धनका लागि अत्यन्त चुनौती थपिएको छ । यस क्षेत्रमा मधेस गठबन्धनका तर्फबाट फोरम अध्यक्ष उपेन्द्र यादव चुनावी मैदानमा छन् । वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उमेश यादवले कडा प्रतिष्पर्धा गर्ने देखिएको छ । यता यी दुबै उम्मेद्वारलाई स्वतन्त्र उम्मेद्वार जयप्रकाश ठाकुरले चुनौती दिन तयार छन् । यस क्षेत्र तीनै उम्मेद्वारका लागि यो चुनाव आफ्नो प्रतिष्ठासँग गाँसिएको छ । त्यस्तै यसै क्षेत्रको प्रदेशसभा ‘क’ मा मधेस गठबन्धनका साझा उम्मेद्वार शैलेन्द्र साह, कांग्रेसका रञ्जित कर्ण र वाम गठबन्धका सरोज मण्डलबीच प्रतिष्पर्धा हुने सम्भावना छ । यसैगरी प्रदेशसभा ‘ख’ मा राजपा महासचिव मनिष सुमन, वाम गठबन्धनका महेश यादव, कांग्रेसका महानन्द यादव र स्वतन्त्र उम्मेद्वार लक्ष्मण यादवबीच कडा चुनावी प्रतिष्पर्धा हुने पक्का देखिन्छ ।

क्षेत्र नं. ३ मा मधेस गठबन्धनका चन्द्रकान्त चौधरीलाई आफ्नै भाइ वाम गठबन्धनका ताराकान्त चौधरी चुनौती दिन तयार देखिएका छन् भने यी दाजुभाइबीचको चुनावी प्रतिष्पर्धामा कांग्रेस सप्तरीका सभापति दिनेशकुमार यादव समेत चुनावी मैदानमा चट्टान भएर खडा भएका छन् । यस क्षेत्रमा त्रिपक्षीय प्रतिष्पर्धा हुने पक्का छ । त्यस्तै यसै क्षेत्रको प्रदेशसभा ‘क’ मा मधेस गठबन्धनका दिनेश यादव, कांग्रेसका मो. समिम र बाम गठबन्धनका महेश चौधरीबीच प्रतिष्पर्धा हुने देखिएको छ । प्रदेशसभा ‘ख’ मा मधेस गठबन्धनका विदेश्वर यादव, कांग्रेसका भगवति यादव, वाम गठबन्धनका एवम् एमाले सप्तरीका उपाध्यक्ष मो. मजिद साकिर र स्वतन्त्र उम्मेद्वार सुरेन्द्र यादवबीच भिडन्त देखिन्छ ।

क्षेत्र नं. ४ मा तीन ठूला उम्मेद्वारबीच कडा प्रतिष्पर्धा हुने भएको छ । मधेस गठबन्धनका साझा उम्मेद्वार एवम् राजपाका वरिष्ठ उपाध्यक्ष मृगेन्द्रकुमार सिंह यादव, कांग्रेसका युवा तथा खेलकुद राज्यमन्त्री तेजुलाल चौधरी र वाम गठबन्धनका उम्मेद्वार मो. इस्लामबीच रोचक प्रतिष्पर्धा हुनेछ । यस क्षेत्रमा तीनै उम्मेद्वारको कडा प्रतिष्पर्धा देखिन्छ । यसै क्षेत्रको प्रदेशसभा ‘क’ मा वाम गठबन्धनका उम्मेद्वार एमाले सप्तरीका अध्यक्ष गोविन्द न्यौपाने, मधेस गठबन्धनका बिनोद चौधरी र कांग्रेसका सीताराम साहबीच चुनावी प्रतिष्पर्धा छ । त्यस्तै प्रदेशसभा ‘ख’ मा मधेस गठबन्धनका अभिषेक यादव, वाम गठबन्धनका शशी यादव र कांग्रेसका विवेकानन्द झाबीच प्रतिष्पर्धा हुँदैछ । ३ लाख ४६ हजार २१४ मतदाता रहेको सप्तरीमा चार प्रतिनिधिसभा र ८ प्रदेशसभा निर्वाचन क्षेत्र रहेका छन् । चारै प्रतिनिधिसभा क्षेत्रमा ५५ तथा ८ प्रदेशसभा क्षेत्रमा ९९ जनागरी १५४ जनाले उम्मेद्वारी दिएका छन् ।

प्रकाशित : 22 November, 2017

प्रतिक्रिया दिनुहोस्