केपी ओली प्रचण्ड माधव नेपाल एमाले


उदयपुर–वाम गठबन्धन अगाडि

सहयात्रा टिभी

उदयपुर । आसन्न चुनावको तयारी गरिरहेका दलहरु अहिले जिल्ला–जिल्लामा आफ्नो मत आंकलन गरिरहेका छन् । स्थानीय चुनावमा पनि उदयपुरमा अगाडि देखिएको वाम गठबन्धन आसन्न चुनावमा पनि केहि बलियो देखिएको छ । आउँदो मंसिर २१ गते हुने

प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावका लागि स्थानीय नेता–कार्यकर्ता अहिले आ–आफ्नो मतको जोड–घटाऊ गरिरहेका छन् । उदयपुरमा स्थानीय तह चुनावमा १ लाख ७५ हजार ४६१ मतदाता रहेकोमा ७० प्रतिशत भन्दा बढीले मतदानमा भाग लिएका थिए । यहाँ रतिनिधिसभा चुनावका लागि दुई र प्रदेशसभाका लागि चार निर्वाचन क्षेत्र छन् । मंसिर २१ गते दोस्रो चरणको चुनावका लागि वाम गठबन्धन पश्चात चुनावी मैदानमा उत्रिएका उम्मेद्वारको उपस्थिति र स्थानीय तह चुनावमा प्राप्त मतलाई आधार मान्दा दुवै क्षेत्रमा वाम गठबन्धन बलियो देखिएको छ ।

उदयपुरको निर्वाचन क्षेत्र नं १ मा स्थानीय तहको चुनावमा १ लाख २ हजार ४०८ जना मतदाता रहेका थिए भने अहिले नयाँ थप भएका मतदाता समेत गरी कूल मतदाता एक लाख १४ हजार ५९१ पुगेको छ । चुनावी मैदानमा वाम गठबन्धनबाट एमालेका मञ्जुकुमारी चौधरी र नेपाली कांग्रेसबाट डा. नारायण खड्काबीच प्रतिष्पर्धा छ । स्थानीय तहको चुनावलाई आधार मान्दा उदयपुर क्षेत्र नं. १ मा एमाले २४ हजार ५१६ मत प्राप्त गरेको थियो भने नेपाली कांग्रेसले २४ हजार ४३१ मत प्राप्त गरेको थियो ।

स्थानीय तह चुनावमा एक्लै चुनावी मैदानमा उत्रिएको नेकपा माओवादी केन्द्रले १६ हजार २०६ मत, संघीय समाजवादी फोरम नेपालले एक हजार ४०४ मत, मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले ३६९ मत, नयाँ शक्ति पार्टीले १२४ मत र राप्रपाले ९२५ मत पाएको थियो । स्थानीय तहको नतिजालाई आधार मान्दा उदयपुर क्षेत्र नं १ मा माओवादी केन्द्रले प्राप्त गरेको मत नै वाम गठबन्धनको जीतको आधार हो । वाम गठबन्धनको पक्षमा ४० हजार ७२२ मत देखिन्छ । जुन नेपाली कांग्रेसले पाएको मतभन्दा १६ हजार २९१ मत बढी हो । तर यस जिल्लामा संघीय समाजवादी फोरम र राप्रपा एक्ला एक्लै चुनावी मैदानमा छ ।

त्यसैगरी निर्वाचन क्षेत्र नं २ मा ७९ हजार ३२७ मतदाताले प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा भाग लिने छन् । यस क्षेत्रमा वाम गठबन्धनबाट माओवादीका सुरेश राई (हिमाल) र नेपाली कांग्रेसका तर्फबाट नारायणबहादुर काकीएबीच सोझो प्रतिष्पर्धा देखिएको छ । स्थानीय तह चुनावमा उदयपुर २ बाट नेपाली कांग्रेसले १३ हजार ९२५ मत पाएको थियो भने नेकपा एमालेले १६ हजार ६४८ मत ल्याएका थिए ।

जसमा नेपाली कांग्रेस भन्दा एमाले दुई हजार ७२३ मतले अगाडि देखिन्छ । यस्तै माओवादी केन्द्रले १२ हजार ५५९ मत र अन्य साना दलमा संघीय समाजवादी ४३१, मधेसी जनअधिकार फोरम लोकतान्त्रिक ६८, राप्रपा १४६ र नयाँ शक्ति नेपालले ४४ मत ल्याएको जिल्ला निर्वाचनको तथ्याङ्कले देखाउँछ । स्थानीय तह चुनावको परिणामलाई आधार मान्दा यस क्षेत्रमा वाम गठबन्धनको पक्षमा २९ हजार २०७ मत खसेको देखिन्छ । त्यस्तै नेपाली कांग्रेस, फोरम लोकतान्त्रिक र नयाँ शक्तिको मत जोड्दा १४ हजार ३७ मतको प्राप्त हुने देखिन्छ ।

प्रकाशित : 22 November, 2017

प्रतिक्रिया दिनुहोस्