केपी ओली प्रचण्ड माधव नेपाल एमाले


भोट माग्न पुग्ने उम्मेद्वारलाई स्थानीय भन्छन्–कर्णालीका लागि के छ योजना ?

सहयात्रा टिभी

कर्णाली । नेपालका दुर्गम जिल्लाहरुको सूची बनाउनु पर्दा कर्णाली सबैभन्दा माथि आउँछ । हरेक पटकको चुनावमा स्थानीय नेता–कार्यकर्ताहरुले कर्णालीको विकास गरी कायापलट गर्ने भाषण गर्छन् । तर त्यो वाचा त्यहिकै हावामा हराउँछ ।

नेताका नरम कुरामा मक्ख पर्दै आएका कर्णालीबासी आसन्न चुनावमा भने उम्मेद्वारका अगाडि अलि कडै रुपमा प्रस्तुत भइरहेका छन् । खाँडाचक्र नगरपालिकाका ५६ वर्षीय तेजबहादुर विष्टसँग नेताप्रति धेरै आकांक्षा छैनन् । निर्वाचन नजिकिँदै जाँदा आफूकहाँ भोट माग्न आउने सबै उम्मेद्वारलाई उनी सोध्छन्–‘पहिला घोषणापत्र देखाऊ, सडकका योजना के–के छन् ? कर्णाली राजमार्ग सुधार गर्ने योजना रहेछ भने मात्र म भोट दिउँला ।’ तर, उनको यो प्रश्नको उत्तर जिल्लाका कुनै उम्मेद्वार र दलसँग छैन ।

बल्ल–तल्ल सञ्चालनमा आएको कर्णाली राजमार्गको दयनीय अवस्था र यात्रामा भोग्नुपरेको सास्तीका कारण उनी भोट राजमार्ग सुधारका योजनासँग साट्ने तयारीमा छन् । उनी थप्छन्–‘नेताहरूले धेरै आश्वासन दिए, सिंहदरबारको अधिकार आँगनमै ल्याउने सपना पनि बाँडे तर त्यो सिंहदरबारले हाम्रो ज्यान जोगिँदैन, कर्णाली राजमार्ग सुधार गरिदिए पुग्छ ।’

सडकको अवस्था राम्रो भई दिएको भए उनी एकै दिन सुर्खेत पुग्थे । तर, कर्णाली राजमार्गका विभिन्न ठाउँमा हुने जामका कारण उनी आधाबाटोमै बास बस्नुपर्ने अवस्था आयो । ‘नेताहरूले भोट माग्न ठूल्ठूला योजनासहितका आश्वासन बाँडेका छन्, बाटोको हालत भने यस्तो छ’, उनी पीडा ओकल्छन्–‘पहिला गाडी नहुँदा हिंडेर जान्थ्यौं, अहिले गाडी चढ्दा पनि सुख छैन । साँघुरो सडकमा ज्यानको बाजी लगाएर यात्रा गर्नुपर्ने बाध्यता छ, यसपालि पनि कुनै नेताले पनि राजमार्ग सुधार्ने योजना ल्याएनन् ।’ कर्णालीका कुनै उम्मेद्वारले यो राजमार्गको स्तरोन्नति गर्ने योजना समावेश नगरेकाले भोट दिनुको कुनै अर्थ नहुने उनी बताउँछन् ।

कर्णालीको भाग्यरेखा मानिने यो राजमार्गको अवस्था जीर्ण छ । पहिरो र बाढीका कारण भत्किएको सडकको सुधार हुन सकेको छैन । साँघुरो भएका कारण दोहोरो सवारी सञ्चालन हुने अवस्था छैन । अधिकांश स्थानमा खाल्टाखुल्टी र हिलोका कारण घण्टौं जाम हुने गरेको छ । साँघुरो सडकका कारण धेरैले अकालमै ज्यान गुमाइसकेका छन् । दुर्घटनाकै कारण ‘मृत्युमार्ग’ को उपनाम पाएको यो राजमार्ग सुधारका लागि कर्णालीका दल र उम्मेद्वारले प्राथमिकता नदिएपछि कर्णालीवासी निरास देखिएका छन् ।

यसपालि भोट माग्न आउने उम्मेदवारलाई यहाँका मतदाता एउटै प्रश्न सोध्छन्, ‘कर्णाली राजमार्गको सुधार कहिले हुन्छ ?’ कालिकोटका उम्मेद्वारले मतदातालाई विभिन्न आश्वासन बाँडिरहेका छन् । तर, राजमार्ग सुधारका लागि उनीहरूसँग कुनै ठोस योजना छैन । यहाँका दलले घोषणापत्रमा ग्रामीण सडकलाई प्राथमिकतामा राखे पनि कर्णाली राजमार्गलाई उपेक्षा गरेको भन्दै मतदाता रुष्ट छन् ।

 

प्रकाशित : 22 November, 2017

प्रतिक्रिया दिनुहोस्