शेरबहादुर दम्पतिकै चुनाव क्षेत्रका प्रहरी प्रमुख परिवर्तन !

सहयात्रा टिभी

काठमाण्डौं । चुनावको मुखमा कर्मचारी सरुवा–बढुवा गर्न नमिल्ने बताइरहेका बेला सरकारले आसन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको संघारमै सुरक्षा निकायका प्रमुखहरुको सरुवा गरेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा चुनाव लड्ने क्षेत्रका प्रदेश प्रहरी प्रमुख फेरिएका छन् । चुनावका मुखमा निर्वाचन आचारसंहिता विपरीत प्रहरीका उच्च अधिकारीहरुको सरुवा भएको घटनालाई जानकारहरुले शंकाको रुपमा हेरेका छन् । गृहमन्त्रीको समेत जिम्मेवार सम्हालिरहेका प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा बुधबार बसेको मन्त्रीपरिषद बैठकले ५ नम्बर प्रदेश र ७ नम्बर प्रदेशका प्रहरी प्रमुख एआइजी सरुवा गरेको हो । ७ नम्बर प्रदेशका प्रमुख एआइजी विजय भट्टलाई सचिवालयमा तानेर बुधबारै डिआइजीबाट एआइजी बढुवा भएका माधव नेपाललाई सात नम्बर प्रदेशमा पठाइएको छ ।

त्यस्तै ५ नम्बर प्रदेश प्रमुख एआइजी मिङमार लामालाई हेडक्वाटर तानेरे बुधबारै डिआइजीबाट एआइजीमा बढुवा भएका मधुप्रसाद पुडासैनीलाई पठाइएको छ । बुधबारको मन्त्रीपरिषद बैठकले मधु पुडासैनी र माधव नेपालसँगै हेमन्त पाल र पंकज श्रेष्ठलाई डिआइजीबाट एआइजीमा बढुवा गरेको थियो । सरुवा भएका ७ प्रदेशकै दुई जिल्लाबाट प्रधानमन्त्री देउवा र उहाँकी पत्नी आरजु राना चुनाव लड्दै छन् । देउवा ७ नम्बर प्रदेश अन्तर्गत डडेलधुराबाट र उनकी पत्नी राना कैलालीबाट प्रतिनिधिसभा सदस्यका लागि चुनाव लड्दै छिन् । मन्त्रिपरिषदको बैठकले बाग्लुङ र नुवाकोट प्रहरी प्रमुखको पनि सरुवा गरेको छ । यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाको ठाडो आदेशमा चार जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा भएको थियो ।

प्रकाशित : 23 November, 2017

प्रतिक्रिया दिनुहोस्