चितुवाको आक्रमणबाट चार घाइते

सहयात्रा टिभी

झापा । झापामा चितुवाको आक्रमणबाट चार जना घाइते भएका छन् । शिवसताक्षी नगरपालिका–५ भेलामुनिमा चितुवाले आक्रमण गर्दा एक प्रहरी हवल्दारसहित चार जना घाइते भएका हुन् ।

घाइते हुनेमा शिबगञ्जमा कार्यरत सुनसरी इनरुवा–२ का प्रहरी हवल्दार युवराज थापा थापा, शिवसताक्षी–५ का ४५ वर्षीया गीता खरेल शिवाकोटी, ४५ वर्षीय बुद्धसिंह ताजपुरिया र वडा नम्बर ६ का ४० वर्षीय देवलाल राजवंशी छन् । शिवाकोटीलाई धान काट्ने क्रममा बुधबार साँझ चितुवाले आक्रमण गरेपछि स्थानीयले चितुवा लखेट्ने क्रममा राजवंशी र तापुरियालाई आक्रमण गरी घाइते बनाएको होे ।

चितुवाले आक्रमण गरेको जानकारी पाएपछि उद्धारका लागि पुगेको प्रहरीमाथि नै चितुवाले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक विष्णु केसीले बताए । चितुवाको आक्रमणमा परी घाइते भएकामध्ये प्रहरी हवल्दार थापा र बुद्धसिंह ताजपुरियाको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचार भइरहेको छ । ताजपुरियाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । उनको टाउको र घाँटीमा चोट लागेको छ । खरेलको दमकस्थित लाईफ लाईन अस्पतालमा उपचार भइरहेको छ भने देबलाल राजबंशीको सामान्य उपचार पछि घर फर्किएका छन् ।

चितुवाको खोजीका लागि स्थानीयबासीसँगै प्रहरी बिहीबार बिहानैदेखि लागिपरेको भए पनि अहिलेसम्म फेला नपरेको इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरिक्षक कैलाश राईले जानकारी दिए ।

प्रकाशित : 23 November, 2017

प्रतिक्रिया दिनुहोस्