केपी ओली प्रचण्ड माधव नेपाल एमाले


विश्वकप छनौटमा नेपाल पराजित

सहयात्रा टिभी

काठमाण्डौं । आइसीसी महिला टि–२० विश्वकपका लागि एशियाली क्षेत्रको छनोट अन्तर्गत खेलमा नेपाल ५ विकेटले युएई (दुवई) सँग पराजित भएको छ । तेस्रो खेलमा नेपाली टोली युएईसँग पराजित भएको हो ।

यसअघिका दुई खेल वर्षाले प्रभावित भएपछि नेपालले अंक बाँडेको थियो । नेपालले पहिलो खेलमा आयोजक थाइल्याण्ड र दोस्रो खेलमा हङकङसँग १–१ अंक बाँडेको थियो । थाइल्याण्डको बैंककस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी मैदानमा युएईले दिएको ८० रनको सामान्य लक्ष्य पनि नेपालले भेट्टाउन सकेन । नेपाल १९.२ ओभरमा ७४ रनमै समेटियो ।

दोस्रो ओभरको चौथो बलमा ओपनर सीता रानामगरलाई ब्यक्तिगत ७ रनमा गुमाएको नेपालले त्यसको दुई बलपछि इन्दू बर्मालाई पनि गुमायो । उनले खाता खोल्नै सकिनन् । त्यस्तै तेस्रो ओभरमा नेरी थापा पनि खाता नखोली पेविलियन र्फकँदा नेपालले ११ रनमा ३ विकेट गुमाएको थियो । छैठौं ओभरको अन्तिम बलमा अर्की ओपनर ज्योति पाण्डे व्यक्तिगत १२ रन बनाएर आउट हुँदा नेपालको २७ रन भएको थियो । पाँचौं विकेटका रुपमा काजल श्रेष्ठ व्यक्तिगत ८ रन बनाउँदा रनआउट भइन् । १२ औं ओभरमा नेपालले दुई विकेट गुमायो । पहिलो बलमा सीता रानामगर ५ र तेस्रो बलमा कप्तान रुविना क्षेत्री खाता नखोली आउट भए । करुणा भण्डारीले पनि ६ रन मात्र बनाउन सकिन् ।

नेपालका लागि रितु कनौजियाले सर्बाधिक २२ रनको योगदान गरिन् । नेपालले ११ अतिरिक्त रन पाएको थियो तर पनि जीतका लागि पर्याप्त भएन । यता युएईका निशा अली र हुमारिया तस्निमले २–२ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको युएइले २० ओभरमा ६ विकेट गुमाउँदै ७९ रन बनायो । युएईका लागि नताशा चेरियथले सर्बाधिक २३, इशा रोहित ओजाले २२ र निशा अलीले १७ रन बनाए । नेपालका लागि कप्तान क्षेत्रीले ३ विकेट लिँदा रितुले २ तथा नेरी थापाले १ विकेट लिए । हारसँगै नेपालको लिगको शीर्ष स्थानमा रहने यात्रामा धक्का पुगेको छ । अब नेपालले शुक्रबार मलेसियासँग खेल्ने जनाइएको छ ।

प्रकाशित : 23 November, 2017

प्रतिक्रिया दिनुहोस्