‘जनताको दुःख बुझ्नेलाई दिन्छौं भोट’

सहयात्रा टिभी

झापा । झापा मेचीनगर–१० का ६७ वर्षीय प्रेमप्रसाद पोखरेलले देशका धेरै राजनीतिक परिवर्तन देखे । पटक–पटक निर्वाचनहरुमा पनि सहभागी भए । चुनावका बेला के–के नै गर्छु भन्ने नेताहरु कुर्सीमा पुगेपछि ती सबै वाचा भुलेर बसेको पनि टुलुटुलु हेरे ।

चुनावका बेला धेरै काम गर्ने भन्दै भाषण दिने नेता चुनाव जितेपछि चुपचाप बस्ने गरेका घटनाले वाक्क पोखरेललाई आसन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका मुखमा दलका नेताहरुले बाँडिरहेको आश्वासनप्रति उति चासो छैन । मेचीनगर नगरपालिकामा राष्ट्रिय पुस्तकालय खोलेर सामाजिक काममा चर्चित रहेका पोखरेल यहि पार्टीलाई भोट दिने भन्दा पनि जनताको दुःख बुझ्ने नेतालाई मत दिने बताउँछन् । उनले भने–‘मैले अहिलेसम्म यहि उम्मेद्वारलाई भोट हाल्छु भन्ने सोंचीसकेको छैन, चुनावका दिन मतपत्र हातमा परेपछि जनताको सुख–दुःखमा साथ दिनेलाई भोट हाल्नु पर्ला ।’

मेचीनगरको त्रिफला क्षेत्रमा एक लाख छ हजार मतदाता छन् । ती मतदातामध्ये विभिन्न राजनीतिक दलमा प्रतिबद्ध ४० प्रतिशत पनि नभएको स्थानीय जानकार बताउँछन् । त्यसले गर्दा यस क्षेत्रसहित झापाका प्रतिनिधि तथा प्रदेशसभाका कुन उम्मेद्वारले बाजी मार्छ, त्यो थाहा पाउन निर्वाचनको नतिजा नै पर्खनु पर्ने देखिन्छ । २०६४ सालको संविधानसभाको पहिलो निर्वाचनको स्मरण गर्दै बुद्ध शान्ति गाउँपालिकाका हरि न्यौपानेले भन्छन्–माओवादीको संगठन नै नहुँदा पनि अत्यधिक बहुमतले यो क्षेत्रमा जितेको थियो । त्यसैगरी स्थानीय तहमा झापाका धेरै स्थानमा नेकपा (एमाले) ले जित्दा पनि यो गाउँपालिकामा नेपाली कांग्रेसले बाजी मा¥यो ।’
३० वर्षीय न्यौपानेले थप्छन्–‘वाम गठबन्धन होस् या लोकतान्त्रिक गठबन्धन निर्वाचनको नतिजा नआईकन कुनै अनुमान लाउन सक्ने अवस्था छैन ।’ उनले आफू स्वतन्त्र नागरिक भएकाले आर्थिक समृद्धिलाई ध्यान दिएर जनताको मर्का बुझ्ने उम्मेद्वारलाई मतदान गर्ने बताउँछन् । प्रतिनिधिसभाका लागि पाँच र प्रदेशसभाका लागि १५० ले उम्मेद्वारी दिएका छन् । उनीहरुले आफ्नो राजनीतिक दलको चुनावी घोषणापत्र तथा सम्बद्ध पार्टीले लिएको नीति तथा सिद्धान्तका आधारमा आफूलाई प्रस्तुत गरिरहेका छन् ।

नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी, नयाँ शक्ति नेपाल, मंगोल नेशनल अर्गनाइजेशन, राष्ट्रिय जनमुक्ति पार्टी, देशभक्त जनगणतान्त्रिक मोर्चा, विवेकशील, नेपाल जनता पार्टीसहित स्वतन्त्र उम्मेद्वार चुनावी मैदानमा छन् । ती राजनीतिक दलले आफ्नै नारा तथा चुनावी एजेण्डा बनाएका छन् । प्रथम चरणमा ३२ लाख २८ हजार ८७९ मतदाताले मतदान गर्दैैछन् । त्यसमध्ये झापाका पाँच लाख ८५ हजार २३६ मतदाताले ६९२ मतदान केन्द्र तथा २८३ मतदानस्थलमा गएर मतदान गर्दैछन् । यहाँको आठ लाखभन्दा बढी जनसंख्या रहेको यस जिल्लामा दुई लाख २७ हजार जनसंख्या मतदाता परिचयपत्र छैन । यही मंसिर २१ गते हुने निर्वाचनमा राजनीतिक दलले जिल्लाका ऐतिहासिक तथा पर्यटकीयस्थललाई देखाएर निर्वाचनमा भोट माग्ने र यहाँको मुख्य पेशा कृषि भएकाले यस पेशालाई आधुनिकीकरण गर्ने बताइरहेका छन् । राजनीतिक दलका नेताले भौतिक पूर्वाधार तथा औद्योगिक विकासलाई पनि जोडतोडका साथ जनता समक्ष पेश गरेका छन् ।

यहाँ मुख्य बसोबास रहेको सतार, धिमाल, मेचे, मुण्डा, राजवंशी, जनगाई तथा झापा जिल्लामा मात्रै बस्ने ‘किसान’ जनजातिका नाममा पनि यहाँका उम्मेदवारले आफ्ना राजनीतिक भाषण तथा चुनावी पर्चामा राख्दै आएका छन् । राजनीतिक दलका नेताले जेजस्ता भाषण दिए पनि यहाँका जनताले स्वतन्त्र एवम् मुलुकको नेतृत्व गर्ने क्षमतावान् नेतालाई मत दिएर विजयी बनाउने सुरमा देखिएका छन् । संगठितभन्दा पनि सक्षम नेतृत्वको खोजीमा रहेको मेचीनगर बस्दै आएका ७६ वर्षीय प्रेमबहादुर कटुवाल बताउँछन् । उनले भने–‘अब आफ्नै उम्मेद्वारलाई मात्र भोट दिनुपर्छ भन्ने दिन गए । गाउँको विकास गर्ने मान्छे हामीलाई चाहिएको छ ।’
उनका अनुसार सुकुम्बासीका लागि व्यवस्थित बसोबास, कल्भर्ट, पुल, पक्की बाटो, शिक्षा, स्वास्थ्य झापाका जनताको खास माग होइनन् । यहाँका जनता खासगरी उच्च शिक्षा र जटिल रोगको उपचारका लागि सीमा पार भारत नै जाने गरेका छन् । इलाम र मोरङ तथा यस जिल्लाका १७ वटा स्थानीय निकाय भारतसँग जोडिएका छन् । त्यसैले यहाँका वासिन्दा शिक्षा र स्वास्थ्य सीमा भारततिर भर पर्दै आएका छन् । कटुवालले भने–‘यहाँ नयाँ काम गर्ने र विकासलाई बुझ्ने नयाँ अनुहारको पनि खोजी भइरहेको छ ।’

प्रकाशित : 23 November, 2017

प्रतिक्रिया दिनुहोस्