केपी ओली प्रचण्ड माधव नेपाल एमाले


धनकुटा बन्ला त प्रदेशको राजधानी ?

सहयात्रा टिभी

धनकुटा । आसन्न निर्वाचनमा उम्मेद्वार बनेकाहरुले धनकुटालाई प्रदेशकोराजधानी बनाउने वाचा सर्वसाधरणहरुसँग गरेका छन् ।
अहिले सबै दलका उम्मेद्वारहरु धनकुटालाई १ नम्बर प्रदेशकोराजधानी बनाउने वाचा गर्दै सर्वसाधरणलाई फकाइरहेका छन् । एउटा मात्रै निर्वाचन क्षेत्र रहेको धनकुटाका उम्मेद्वारले १ नम्बर प्रदेशको राजधानी बनाउने वाचा गर्दै मत मागिरहेका छन् ।

मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा धनकुटाबाट प्रतिनिधिसभा सदस्यका लागि वाम गठबन्धनबाट राजेन्द्र राई र लोकतान्त्रिक गठबन्धनबाट सुनिलबहादुर थापा उम्मेद्वार छन् । दुवै उम्मेदवार आफूले जितेको खण्डमा मात्र धनकुटा प्रदेश नम्बर १ को राजधानी बन्ने दाबी गर्दै मत मागिरहेका छन् । उनीहरुले चुनावी अभियानका क्रममा मतदातालाई आफूतिर आकर्षित गर्न प्रदेश नं १ को राजधानी बनाउन आफ्नो पार्टीले जित्नुपर्ने आश देखाइरहेका छन् । मतदाताको घरदैलोमा पुग्दा होस् वा चुनावी सभा वा प्रतिबद्धता पत्रमा होस्, उनीहरुले प्रदेशको राजधानी बनाउने कुरालाई पहिलो प्राथमिकतामा राख्ने गरेका छन् ।

पछिल्ला दिनमा प्रदेश नं १ को राजधानी कहाँ बनाउने भन्ने विषय पेचिलो बन्दै गएको छ । प्रदेश नं १ को राजधानी इटहरीलाई बनाउन दबाब दिँदै दिनहुँ आन्दोलन पनि भइरहेका छन् । तर, धनकुटाले पनि राणा कालदेखिको प्रशासनिक कार्यालय धनकुटामै रहेकाले प्रदेशको राजधानी अन्यत्र सार्न नमिल्ने भन्दै संघर्ष गर्दै आएको छ । तमोर करिडोर अरुण करिडोरको सम्भाव्यता अध्ययन गरी ‘एग्री कल्चर हव’का रुपमा विकास गर्ने, एउटा गाउँ एउटा उत्पादनलाई प्राथमिकता दिने, खोकु छिन्ताङको सुन्तलालगायत धनकुटामा उत्पादन हुने अन्य वस्तुलाई बढवा गर्ने उम्मेदवार राईको संकल्प छ ।

त्यसैगरी पाख्रीवासको कृषि अनुसन्धान केन्द्रलाई कृषि विश्व विद्यालयका रुपमा विकास गर्नको लागि पहल गर्ने वाम गठबन्धनले प्रतिबद्धता गरेको छ । सुविधा सम्पन्न जिल्ला अस्पताल निर्माण गर्ने, धनकुटाका ६० वटै वडामा प्राथमिक स्वास्थ्य केन्द्रको स्थापना गर्ने र प्रत्येक वडालाई आधुनिक शहरका रुपमा विकास गर्ने योजना छ ।
समृृद्ध र सम्मानित नागरिकका रुपमा धनकुटेली जनतालाई स्थापित गर्न यहाँको मुख्य आम्दानीको रुपमा रहेको फलफूल एवम् तरकारी बालीमा आधुनिकीकरण गर्दै जैविक कृषि कार्यलाई अघि बढाइ किसानलाई आत्मनिर्भर बनाउने मन्त्री थापाको योजना छ ।

क्यान्सर र मिर्गौला फेल भएका बिरामीलाई औषधोपचार खर्च वृद्धि गर्दै क्रमशः निःशुल्क उपचार व्यवस्था गर्ने र महिला स्वास्थ्य स्वयंसेविकलाई कम्तीमा मासिकरुपमा निर्वाह भत्ता दिने व्यवस्थाका लागि पहल गर्ने लोकतान्त्रिक गठबन्धनको संकल्प छ । भौतिक संरचना पर्याप्त हुनु, ताप्लेजुङ जोडने तमोर करिडोरको निर्माण हुनु, पूर्वका सबै जिल्लासँग सडक सञ्जाल जोडिनु, विमानस्थल निर्माणको प्रारम्भ हुनु र अन्तर्राष्ट्रिय मापदण्ड पूरा गर्नु लोकतान्त्रिक गठबन्धको तर्क रहेको छ ।

प्रकाशित : 25 November, 2017

प्रतिक्रिया दिनुहोस्