केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सिटौलालाई विरासत बचाउन सकस

सहयात्रा टिभी

झापा । नेपाली कांग्रेसले देशभर राष्ट्रिय प्रजातन्त्र पार्टीसँग आसन्न निर्वाचनका लागि गवबन्धन बनाएको छ । तर, तर झापामा भने नेपाली कांग्रेसको कुरा बेग्लै छ । अन्यत्र राप्रपा र कांग्रेसका कार्यकर्ता गठवन्धनका लागि भोट मागिरहेका छन् । तर पश्चिम झापाको मावा नदी तरेर पूर्व लागेपछि बेग्लै दृष्य देखिन्छ । यहाँ राप्रपा, एमाले र माओवादीको गठजोड भएको छ ।

झापा–३ लाई कांग्रेसी नेता कृष्णप्रसाद सिटौलाको पकड क्षेत्र मानिन्छ । सिटौला २०५० सालदेखि अहिलेसम्म तीन पटक निर्वाचित भइसेका छन् । २०५० असार ६ गते तात्कालीन एमाले सांसद द्रोर्णप्रसाद आचार्यको निधन भएपछि भएको उपचुनावमा उनी पहिलोपल्ट झण्डै ७ महिना यो क्षेत्रबाट सांसद बने । २०४८ को चुुनावमा बनेको एमालेको पकड भत्किन थाल्यो । २०५१ सालमा कांग्रेसमा छत्तिसे र चौहत्तरे गुट भएपछि बहुमतको कांग्रेस सरकार ढल्यो र २०५१ कात्तिक अन्तिममा भएको दोस्रो आम चुनावमा भने यहाँबाट सिटौला हारे र एमालेका पुष्प पोखरेल विजयी भए ।

तुलनात्मक रुपमा राप्रपा पनि यहाँ बलियो मानिन्छ । एमालेलाई पछि पार्दै सिटौलाको निकटतम प्रतिष्पर्धी बन्न सफल राप्रपाका महामन्त्री राजेन्द्र लिङदेन त्यस्ता पात्र हुन जसका कारण देशैभरीका लागि बनिसकेको कांग्रेस—राप्रपा गठबन्धन यसपालि झापामा बन्न सकेन । सिटौलाले आफ्नाविरुद्ध झापामा अचम्मको गठजोड भएको संक्षिप्त र चिसो प्रतिक्रिया दिइरहेका छन् । तर ५ महिनामात्र अघि भएको स्थानीय तहको चुनावको नतिजाले उनका लागि त्यति सहज देखाउँदैन ।

यो क्षेत्र अन्तर्गतका कचनकवल र हल्दीबारी गाँउपालिकामा राप्रपा विजयी भएको छ भने क्षेत्रकै केन्द्रविन्दुमा रहेको भद्रपुर नगरपालिकामा एमालेले मेयर, उपमेयरसहित अत्याधिक बहुमत ल्याएको छ । स्थानीय तहमा कांग्रेस यो क्षेत्रको तेस्रो शक्ति मात्र बनेको थियो । यसले सिटौला वास्तवमै कठिन लडाईंका लागि मैदानमा उत्रिएको देखाउँछ । कांग्रेसभित्र वैकल्पिक धार बनाइसकेका राष्ट्रिय राजनीतिका एक जना खेलाडी सिटौलालाई स्थानीय क्षेत्रको विकासमा विल्कुलै ध्यान नदिएको आरोप विपक्षी दलका कार्यकर्ताले मात्र होइन स्वयम् कांग्रेस वृत्तबाटै पनि लाग्ने गरेको छ । सदरमुकाम समेत रहेको यो क्षेत्रका धुलाम्य सडक, वर्षेनी डुबानमा पर्ने आदिवासीका बस्ती, बन्न नसकेका पुल आदिका कारण उहाँ राजनीतिक विरासत गुम्ला कि भन्ने खतराको छेउबाट गुज्रिरहनु भएको छ ।

प्रकाशित : 25 November, 2017

प्रतिक्रिया दिनुहोस्