केपी ओली प्रचण्ड माधव नेपाल एमाले


गोरखामा बाबुरामको प्रचार सामग्री र एक लाख नगदसहित पाँच जना पक्राउ

सहयात्रा टिभी

गोरखा । नयाँ शक्ति पार्टीका उम्मेद्वार बाबुराम भट्टराईको चुनाव प्रचार सामग्री र एक लाख नगदसहित पाँच कार्यकर्तालाई गोरखा प्रहरीले पक्राउ गरेको छ ।

गोरखाको जौबारीमा एक लाख रुपैयाँ नगद र चुनावी प्रचार सामाग्रीसहित नयाँशक्ति पार्टीका कार्यकर्ता पक्राउ परेका छन् । पक्राउ परेका ५ जनालाई जौबारी इलाका प्रहरी कार्यालयमा राखिएको छ ।

पक्राउ पर्नेहरूमा गाडी चालक गोरखा–११ का दिपेन्द्र सुनार, गोरखा नगरपालिका–१० का डिलमान गुरुङ र अम्बरबहादुर गुरुङ, गोरखा नगरपालिका–६ का भरतकुमार श्रेष्ठ र गोरखा–८का खुशबहादुर थापा रहेको प्रहरीले जनाएको छ । गाडीभित्र रहेको कालो रङको झोलामा नगद एक लाख रुपैयाँ भेटिएको बताइएको छ । शनिबार राति १ बजे गोरखा क्षेत्र नम्बर–२ दुई अन्तर्गत शिरानचोक गाउँपालिका– ८ गोपालडाँडा स्थानीय युवाहरुले उक्त गाडी, नगद रकम र ५ जना युवालाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको जनाइएको छ ।

अजिरकोटबाट भालुस्वरातर्फ आउँदै गरेको ग २ च १७२५ नम्बरको जीप गाडीमा उक्त नगद र प्रचार सामाग्री भेटिएको स्थानीय प्रत्यक्षदर्शीको भनाइ छ ।‘एक लाख नगद र नयाँशक्तिका प्रचार सामाग्रीसहित राति शंकास्पद अवस्थामा उनीहरुलाई पक्राउ गरी हिरासतमा राखिएको छ’–गोरखाका प्रहरी प्रमुख एसपी प्रकाश अधिकारीले भने–‘मौन समयमा उक्त गाडी र नगद कुन प्रयोजनका लागि लगिएको थियो भन्नेबारे अनुसन्धान हुन बाँकी छ ।’

यता बाबुराम भट्टराई नेतृत्वको नयाँशक्ति पार्टीले मतदाताहरुलाई पैसा बाँडेको र आचारसंहिता उल्लंघन गरेको जौबारीका स्थानीय माओवादी कार्यकर्ताले आरोप लगाएका छन् । नयाँ शक्तिका नेताहरुले भने पैसा बाँड्नलाई बोकेको नभई सो रकम कार्यकर्ता परिचालनका क्रममा उनीहरुका साथमा रहेका बुथ खर्च भएको बताएका छन् । मौन समयअघि गाडीमा राखिएका प्रचार समाग्रीहरु नियन्त्रण लिएर आचारसंहिता उल्लंघनको प्रचार गरिएको नयाँ शक्तिको दाबी छ । प्रहरीले नियन्त्रणमा लिएको गाडी नयाँशक्ति पार्टीका समानुपातिक उम्मद्वारको रहेको सो पार्टीले जनाएको छ ।

प्रकाशित : 26 November, 2017

प्रतिक्रिया दिनुहोस्