केपी ओली प्रचण्ड माधव नेपाल एमाले


कुन नेताले कहाँ–कहाँबाट गरे मतदान ?

सहयात्रा टिभी

काठमाण्डौं । प्रदेश र प्रतिनिधिसभाको पहिलो चरण अन्तर्गत ३२ जिल्लामा मतदान भइरहेको छ । अहिले देशका ३२ जिल्लामा सर्वसाधरण उत्साहपूर्वक मतदान गरिरहेका छन् । संघीय संरचनाअनुसार पहिलो पटक हुन लागेको प्रतिनिधि तथा प्रदेशसभा चुनावमा राजनीतिक दलका शीर्ष नेताहरुले सबैभन्दा पहिला मतदान गरेका छन् । केहीले आफूसहित अरुलाई मतदान गर्नेछन् भने केहीले निर्वाचन क्षेत्र फरक परेकाले आफूलाई मत दिन पाएनन् ।

अहिले कुन उम्मेद्वारले कहाँबाट मतदान गरे भन्ने कुरा पनि सर्वसाधरणको चासोमा छ । पूर्व प्रधानमन्त्री एवम् नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले गोरखाबाट मतदान गरेका छन् । गोरखा–२ को प्रतिनिधिसभा सदस्य उम्मेद्वार रहेका भट्टराईले पालुङटार नगरपालिकाको अन्नपूर्ण मावि खोप्लाङस्थित केन्द्रबाट मतदान गरेका छन् । माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले गोरखाको सिरानचोक गाउँपालिका–८ जौबारीस्थित आदर्श उमाविमा मतदान केन्द्रमा मतदान गरे ।

यसैगरी माओवादी कै अग्नि सापकोटाले सिन्धुपाल्चोकको साँगाचोकगढी–४ स्थित पञ्चकन्या मावि मतदान केन्द्रमा भोट हालेका छन् । उनी सिन्धुपाल्चोकको क्षेत्र नम्बर–१ का उम्मेद्वार पनि हुन् । सिन्धुपाल्चोकको क्षेत्र नम्बर–१ मै नेपाली कांग्रेसबाट सूचना तथा सञ्चार मन्त्री समेत रहेका मोहनबहादुर बस्नेत पनि चुनावी प्रतिष्पर्धामा छन् ।

एमाले सचिव योगेश भट्टराई पनि पहिलो चरणका मतदाता हुन् । ताप्लेजुङको प्रदेशसभा सदस्यतर्फको चुनावी मैदानमा उत्रिएका भट्टराईको नाम मैवाखोला गाउँपालिका–३ नारायणी उमावि केन्द्रमा छ । उनले पनि त्यहिंबाट मतदान गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष पशुपति शमशेर राणा सिन्धुपाल्चोकका मतदाता हुन् । मतदाता सूचीमा उनको नाम सुनकोसी गाउँपालिका–२ को महेन्द्रोदय उमावि केन्द्रमा छ ।

पश्चिम रुकुमका प्रतिनिधिसभा सदस्य उम्मेद्वार तथा विना विभागीय मन्त्री जनार्दन शर्मा रुकुम मुसिकोट नगरपालिका–५ का मतदाता हुन् । उनको मतदान केन्द्र यमुनानन्द नमूना उमावि हो । उनले यहिंबाट मतदान गरेका छन् । कांग्रेसका चीनकाजी श्रेष्ठ र एमालेका पृथ्वी सुब्बा गुरुङले पनि मतदान गरेका छन् । ४ नम्बर प्रदेशका मुख्यमन्त्रीका दाबेदारका रुपमा हेरिएका गुरुङ लमजुङबाट प्रदेशसभा सदस्य उम्मेद्वार हुन् । उनले पनि मतदान गरेका छन् । उनको मतदाता नामावली क्व्होलासोथार गाउँपालिका–९ मा हो ।

उनको मतदान केन्द्र बुद्धोदय मावि परेको छ । गोरखा–१ का उम्मेद्वार चीनकाजी श्रेष्ठले आरुघाट गाउँपालिकाको भीमोदय उमावि मतदान केन्द्रबाट मत गरेका छन् । यसैगरी पूर्व गृहमन्त्री एवम् माओवादी केन्द्रका नेता शक्तिबहादुर बस्नेतले पनि मतदान गरेका छन् । उनले जाजरकोटको पिपेस्थित वागेश्वरी निमावि केन्द्रबाट मतदान गरेका छन् । जाजरकोटमा कांग्रेसबाट राजीवविक्रम शाह उम्मेद्वार छन् ।

प्रकाशित : 26 November, 2017

प्रतिक्रिया दिनुहोस्