अहिलेसम्म २५ प्रतिशत मतदान

सहयात्रा टिभी

काठमाण्डौं । देशका ३२ जिल्लामा जारी प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा बिहान १० बजेम्ममा २५ प्रतिशत मत खसिसकेको छ । आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्रका अनुसार हिमाली भेगका केही स्थानमा चिसोका कारण केही ढिला मतदान शुरु भए पनि अहिले सबै मतदान केन्द्रमा शान्तिपूर्ण एवम् उत्साहजनकरुपमा मतदान कार्य जारी रहेको छ ।

प्रतिनिधिसभा सदस्यका लागि ३७ निर्वाचन क्षेत्र र प्रदेशसभा सदस्यका लागि ७४ निर्वाचन क्षेत्रमा ४ हजार ४६५ मतदान केन्द्रहरुमा आइतबार बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान कार्य जारी रहने छ । आज बेलुका ५ बजेभित्र मतदान केन्द्रहरुमा प्रवेश गरिसकेका मतदाताहरुले मतदान गर्न पाउने व्यवस्था रहेको छ ।

पहिलो चरणमा आज प्रदेश नं. १ का सोलुखुम्बु, ओखलढुङ्गा, संखुवासभा, भोजपुर, ताप्लेजुङ, पाँचथर र खोटाङ, प्रदेश नं. ३ का नुवाकोट, रसुवा, धादिङ, सिन्धुपाल्चोक, दोलखा र रामेछाप, प्रदेश नंं. ४ का मुस्ताङ, म्याग्दी, बाग्लुङ, मनाङ, लम्जुङ र गोरखा, प्रदेश नंं. ५ का रुकुम पूर्वी भाग र रोल्पा, प्रदेश नं. ६ का रुकुम पश्चिम भाग, जाजरकोट, हुम्ला, मुगु, जुम्ला, कालीकोट र डोल्पा तथा प्रदेश नं. ७ का दार्चुला, बझाङ, बाजुरा र बैतडी जिल्लामा मतदान कार्य जारी रहेको छ ।पहिलो चरणको यस निर्वाचनमा कूल ३१ लाख ९१ हजार ९४५ मतदाता रहेका छन् ।

प्रकाशित : 26 November, 2017

प्रतिक्रिया दिनुहोस्