तीन बजेसम्म ५५ प्रतिशत मतदान

सहयात्रा टिभी

काठमाण्डौं । निर्वाचन आयोगले आइतबार दिउँसो ३ बजेसम्ममा देशका ३२ जिल्लामा ५५ प्रतिशत मतदान भएको जनाएको छ ।
पहिलो चरणको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन अन्तर्गत आइतबार ३२ जिल्लामा ५ बजेसम्म मतदान हुनेछ ।

निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्रका अनुसार हिमाली भेगका केही स्थानमा चिसोका कारण ढिला गरी मतदान शुरु भए पनि अहिलेसम्म शान्तिपूर्ण रुपमा मतदान भइरहेको जनाएको छ । पहिलो चरण अन्तर्गत प्रतिनिधिसभा सदस्यका लागि ३७ निर्वाचन क्षेत्र र प्रदेशसभा सदस्यका लागि ७४ निर्वाचन क्षेत्रमा निर्वाचन भइरहेको हो ।

३२ जिल्लामा भइरहेको निर्वाचनमा चार हजार ४६५ मतदान केन्द्र तोकिएका छन् । पहिलो चरणमा आज प्रदेश नं. १ का सोलुखुम्बु, ओखलढुंगा, संखुवासभा, भोजपुर, ताप्लेजुङ, पाँचथर र खोटाङ, प्रदेश नं. ३ का नुवाकोट, रसुवा, धादिङ, सिन्धुपाल्चोक, दोलखा र रामेछाप, प्रदेश नंं. ४ का मुस्ताङ, म्याग्दी, बागलुङ, मनाङ, लम्जुङ र गोरखा, प्रदेश नंं. ५ का रुकुम पूर्वी भाग र रोल्पा, प्रदेश नं. ६ का रुकुम पश्चिम भाग, जाजरकोट, हुम्ला, मुगु, जुम्ला, कालीकोट र डोल्पा तथा प्रदेश नं. ७ का दार्चुला, बझाङ, बाजुरा र बैतडी जिल्लामा मतदान कार्य जारी रहेको छ । पहिलो चरणको यस निर्वाचनमा कूल ३१ लाख ९१ हजार ९४५ मतदाता छन् ।

प्रकाशित : 26 November, 2017

प्रतिक्रिया दिनुहोस्