जनताको हातमा नेताको भाग्य, कसले मार्ला बाजी ?

सहयात्रा टिभी

काठमाण्डौं । पहिलो चरणको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन आज ५ बजे सकिंदैछ । यो निर्वाचनले केहि ठूला नेताहरुको राजनीतिक भविष्य फैसला गर्दैछ । मतदानसँगै केहि ‘हेवी वेट’ का उम्मेद्वार नेताहरुको जीत–हारको जोड घटाऊ शुरु भएको छ । तर, अनुमान जसले जे लगाए पनि मतपरिणाम थाहा पाउनका लागि आउँदो मंसिर २१ गतेको दिनलाई कुर्नुको कुनै विकल्प छैन ।

पहिलो चरणको निर्वाचनमा सबैभन्दा बढी चर्चा गोर्खा क्षेत्र नम्बर–२ को छ जहाँ एमालेको समर्थनमा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ र कांग्रेसको समर्थनमा नयाँ शक्ति नेपालका संयोजक एवम् पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई एकले अर्कालाई हराउने दावी गर्दै चुनावी टक्करमा छन् । पूर्व सहकर्मी समेत रहेका कारण उनीहरुको चुनावी प्रतिष्पर्धालाई राजनीति वृत्तमा निकै चासोका साथ हेरिएको छ । यसैगरी नुवाकोटमा डा. रामशरण महत र अर्जनुन नरसिंह केसीको भाग्य फैसला पनि आजको निर्वाचनबाट हुँदैछ । महत र केसी दुबै जना कांग्रेसका प्रभावशाली नेताहरु हुन् ।

पटक–पटक मन्त्री समेत महतसँग माओवादीका हितबहादुर तामाङ र केसीसँग एमालेका नारायणप्रसाद खतिवडा चुनावी प्रतिष्पर्धामा छन् । महत र तामाङ नुवाकोट क्षेत्र नम्बर १ बाट तथा केसी र खतिवडा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य उम्मेद्वार छन् । ताप्लेजुङबाट एमाले सचिव योगेश भट्टराई र कांग्रेसका केशव दाहाल उम्मेद्वार छन् । उनीहरुको प्रतिष्पर्धा पनि रोचक हुने अनुमान छ । एक मात्र निर्वाचन क्षेत्र रहेको ताप्लेजुङका मतदाताले भट्टराई र दाहालमध्ये कसलाई जिताउँलान् हेर्न बाँकी छ । पाँचथरबाट कांग्रेसका भीष्मराज आङदेम्बे र एमालेका बसन्त नेम्वाङ तथा सोलुखुम्बुको कांग्रेसका बलबहादुर केसीको भाग्य फैसला पनि यसै चुनावले गर्दैछ । सोलुखुम्बुका हरेक चुनाव जित्दै आएका केसीसँग माओवादीका हेमकुमार राई प्रतिष्पर्धामा छन् ।

ओखलढुङ्गामा कांग्रेसका रामहरि खतिवडा र एमालेका यज्ञराज सुनुवार पनि प्रतिष्पर्धी छन् । खतिवडा र सुनुवार दुबै नेता उत्तिकै चर्चित छन् । युवामाझ लोकप्रिय यी दुई नेतामध्ये कसको पक्षमा चुनावी परिणाम जाला भन्ने चासो छ । माओवादी नेताहरु देव गुरुङ, वर्षमान पुन ‘अनन्त’, जनार्दन शर्मा, शक्तिबहादुर बस्नेत र महेन्द्रबहादुर शाहीको भाग्य फैसला पनि पहिलो चरणको निर्वाचनबाट हुँदैछ । यी पाँचै जना माओवादी नेताहरुका प्रतिष्पर्धा नेपाली कांग्रेससँग छ । गुरुङसँग दिलबहादुर घर्ती, अनन्तसँग अमरसिंह पुन, शर्मासँग गोपालजी जंग शाह, बस्नेतसँग राजीवविक्रम शाह र महेन्द्रबहादुर शाहीसँग भुपेन्द्रजंग शाही प्रतिष्पर्धामा छन् ।

यसैगरी सिन्धुपाल्चोकका दुई वटै निर्वाचन क्षेत्र यस पटक बढी चर्चामा छन् । क्षेत्र नम्बर एकमा माओवादी केन्द्रका अग्नि सापकोटा र कांग्रेसका मोहनबहादुर बस्नेत उम्मेद्वार छन् भने क्षेत्र नम्बर २ मा राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति समशेर राणा र एमालेका शेरबहादुर तामाङ उम्मेद्वार छन् । सापकोटा पूर्व सूचना तथा सञ्चारमन्त्री हुन् भने बस्नेत बहालवाला । उनीहरुमध्ये कसले चुनाव जित्ला भनेर चासो व्याप्त छ । यद्यपि उम्मेद्वारहरुले आ–आफ्नो जीत सुनिश्चित भएको दावी गर्दै आएका छन् । माओवादीका पाँचै जना माओवादी नेताहरु मन्त्री भइसकेका र पार्टीमा बलियो प्रभाव जमाउँदै आएका नेताहरु हुन् । तर, मतदाताहरु माझ प्रभाव जमाएका छन् कि छैनन् भन्ने थाहा पाउन चुनावी परिणामलाई २१ गतेदेखि हुने मतगणनालाई पर्खिनै पर्ने हुन्छ ।

प्रकाशित : 26 November, 2017

प्रतिक्रिया दिनुहोस्