एक अर्व लगानीमा पोखरामा स्टेडियम बन्दै

सहयात्रा टिभी

पोखरा । पर्यटकीय पोखरामा खेलकुदको विकास गर्ने उद्देश्यले आधुनिक स्टेडियम बनाइने भएको छ । पोखरामा एक अर्व लगानी गरेर राष्ट्रिय खेलकुद परिषद्ले ग्लोवल टेण्डर आह्वान समेत गरिसकेको छ । राखेपले १० महिनाभित्र स्टेडियम पूरा गर्ने लक्ष्यका साथ टेण्डर आह्वान गरेकोजनाएको छ ।

राखेपले १३ औं ‘साउथ एशिएन गेम’ (साग) प्रतियोगितालाई ध्यान दिंदै हाल पोखरामा रहेको फुटबल ग्राउण्डको स्तरोन्नति गर्ने तयारी थालेको हो । स्टेडियममा ट्रयाक एण्ड फिल्ड, शौचालय, खेलाडी आराम कक्ष, मिडिया कक्ष, स्टोर रुम र कन्फ्रेन्स कक्ष निर्माण हुनेछ । योसँगै फुटबल मैदान फिफाले तोकेको मापदण्डमा बन्ने बताइएको छ ।

२० हजार दर्शक क्षमता स्टेडियमको प्याराफिटसहित आधुनिक प्रविधिहरु जडान गर्न लागिएको क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले जानकारी दिए । ‘स्टेडियम तयार भए सन् २०१९ को मार्चमा नेपालमा आयोजना हुने दक्षिण एशियाली खेलकुदका धेरै खेलहरु पोखरामा हुनेछन्’–अध्यक्ष पौडेलले भने–‘हामी सोही लक्ष्य पूरा गर्ने अपेक्षामा छौं ।’ ४ सय १७ रोपनी क्षेत्रफलमा फैलिएको पोखरा रङ्गशालामा २०३९÷४० सालमा फुटबल मैदान र प्याराफिट बनेको थियो तर, त्यसपछि कुनै पनि पूर्वाधार निर्माण हुन सकेको छैन् ।

प्रकाशित : 27 November, 2017

प्रतिक्रिया दिनुहोस्