केपी ओली प्रचण्ड माधव नेपाल एमाले


चुनावको मुखैमा माओवादी उम्मेद्वारको उम्मेद्वारी खारेज

सहयात्रा टिभी

काठमाण्डौं । सर्लाही क्षेत्र नम्बर–४ का वाम गठबन्धनका उम्मेद्वार शिवपुजन राय यादवको उम्मेदवारी चुनाव आउन १० दिन अगाडि नै खारेज भएको छ । उनीविरुद्ध स्वतन्त्र उम्मेद्वार गणेशकुमार सिंहले जिल्लामा र अनिलकुमार सिंहले निर्वाचन आयोगमा कात्तिक १९ गते उजुरी दिएका थिए । आयोगले आफ्नो उजुरी सुनुवाइ नगरेको भन्दै उनीहरु सर्वोच्च अदालत पुगे । सर्वोच्चले यो मुद्दामा कारण देखाउ आदेश जारी गर्दै आयोगसँग लिखित जवाफ माग्यो । सर्वोच्चलाई जवाफ पठाउनुअघि नै आयोगले शनिबार शिवपुजनको उम्मेद्वारी खारेज गरिदिएको छ ।

सर्लाहीका निर्वाचन अधिकृत दिवाकर भुजेलले भने–‘उहाँको उम्मेद्वारी खारेज भएको छ । अब यो क्षेत्रमा वाम गठबन्धनको उम्मेद्वार नै नहुने भयो ।’ पहिलो संविधानसभामा तत्कालीन मधेसी जनअधिकार फोरमबाट सभासद रहेका रायलाई कूटनीतिक राहदानी दुरुपयोग गरेको अभियोगमा विशेष अदालतले दोषी ठहर गरेको थियो । त्यसविरुद्ध परेको पुनरावेदन सर्वोच्चमा अझै विचाराधीन छ । निर्वाचन आयोगले सर्वोच्चमा मुद्दा विचाराधीन रहँदा नै तनहुँ २ मा गोविन्दराज जोशीको उम्मेद्वारी खारेज गरेको थियो ।

जोशीलाई विशेष अदालतले भ्रष्टाचारको मुद्दा दोषी ठहर गरेको थियो । तर, सर्वोच्चमा मुद्दा विचाराधीन छ । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले दिएको उजुरीका आधारमा जोशीको उम्मेद्वारी खारेज गरेको आयोग शिवपुजनबारे लामो समय मौन बसेको थियो । तर, मतदानको १० दिनअघि मात्र उम्मेद्वारी खारेज भएको छ । अब सर्लाही–४ मा कांग्रेसबाट अमरेशकुमार सिंह र राजपाबाट राकेश मिश्र उम्मेदवर छन् ।

प्रकाशित : 27 November, 2017

प्रतिक्रिया दिनुहोस्