केपी ओली प्रचण्ड माधव नेपाल एमाले


‘हाम्रो भोट जङ्गली जनावरको आतंक रोक्नेलाई’

सहयात्रा टिभी

इनरुवा । दलहरु दोस्रो चरणको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा जुटेका छन् । चुनावको प्रचार–प्रचारसँगै दलका उम्मेद्वारहरुले जिल्ला र निर्वाचन क्षेत्र अनुसारकै एजेण्डाहरु अगाडि सारिरहेका छन् ।

पटक–पटकको निर्वाचनबाट खारिएका मतदाताहरु पनि यस पटकको निर्वाचनमा निकै खारिएर उम्मेद्वारका अगाडि देखापरेका छन् । अन्य जिल्लामा जस्तै सुनसरीमा पनि चुनावको सरगर्मी बढ्दो छ । सुनसरीको कोशी र बराह गाउँपालिका पर्यटनका क्षेत्रमा चिनिएका ठाउँहरु हुन् । पर्यटकीय ठाउँ भए पनि यहाँका बासिन्दाले भने पूरानै मागलाई यस पटकको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा नेताका अगाडि सारेका छन् । गाउँमै पर्ने बन्यजन्तु आरक्षका कारण आफूहरु वर्षौदेखि आतंकित बनिरहनु परेको गुनासो गरिरहेका कोशी गाउँपालिका र बराह गाउँपालिकाका सर्वसाधरण गाउँमा आरक्षका कारण उत्पन्न भइरहेका समस्या समाधान गर्ने उम्मेद्वारलाई भोट दिने अडानमा छन् ।

घर नजिकै रहेको कोशी टप्पु वन्यजन्तु आरक्षबाट दैनिक निस्कने जङ्गली जनावरका कारण उनीहरुको धनमालको क्षतिका साथै मानवीय क्षतिको समेत सामना गर्नुपर्ने बाध्यता छ । आरक्षबाट दैनिक निस्कने अर्ना, हात्ती, बँदेललगायतका जङ्गली जनावरको आतंकले सो क्षेत्रका स्थानीय हैरान छन् । यस पटक सो क्षेत्रका स्थानीय तथा मतदाताले आरक्षको समस्या समाधान गर्ने उम्मेदवारलाई मतदान गर्ने प्रमुख एजेण्डा बनाएका हुन् ।

सुनसरीको बराह नगरपालिकाको मधुवन क्षेत्रका मतदाताले कोशी टप्पुको हात्ती, अर्ना र बँदेलको आतंक बढेकाले त्यसको समाधान गर्ने तथा आरक्ष पीडितलाई राहत दिने उम्मेद्वारलाई मतदान गर्ने बताएका छन् । बराह– ११ को मधुवनका अजिम हुसेनले आरक्षको समस्या समाधान गर्नेलाई मतदान गर्ने बताए । दिन–रात अर्ना र हात्तीको आतंक रहेकाले त्यसलाई पूर्ण समाधान गर्ने उम्मेद्वारलाई मतदाताले मतदान गर्ने अन्सारीले बताएका छन् ।

उम्मेदवारका केही एजेण्टले रकम लिएर मतदाताको भावना विपरीत मत बेच्ने काम गरेकाले आफूहरु त्यसबाट बचेर काम गर्ने सुनसरी क्षेत्र नं ४ का मतदाता अर्जुन गुप्ताको भनाइ छ । गुप्ताले एम्बुलेन्स पुग्ने बाटो, ग्राभेल भएको सडक, कोशी टप्पुलाई पर्यटकीय क्षेत्रका रुपमा स्थापित गरी युवालाई स्वरोजगार बनाउने उम्मेद्वारलाई मतदान गर्ने सोंच बनाएको बताए । कोशी टप्पुको काख र कोशी नदीको छेउमा रहेको उराँव र दलित बस्तीका मतदाताले आरक्ष क्षेत्रको घेराबेरा र बालीमा गरेको क्षति न्यूनीकरण गरिदिने उम्मेद्वारलाई मतदान गर्ने स्थानीय मतदाता शान्ति उराँवको भनाइ छ ।

प्रकाशित : 27 November, 2017

प्रतिक्रिया दिनुहोस्