कांग्रेसको किल्लामा इश्वरको आँखा
काठमाण्डौं । पहिलो चरणको प्रतिनिधि तथा प्रदेशसभा चुनाव सकिएसँग नेताहरु दोस्रो चरणको चुनाव तयारीमा जुटिसकेका छन् ।
चुनाव भिडेर मत परिणामको पर्खाइमा रहेका उम्मेद्वारहरु पनि अहिले दोस्रो चरणको चुनावी मैदानमा रहेका सहयोद्धा उम्मेद्वारहरुलाई सघाउन थालेका छन् । आइतबार ३२ जिल्लामा पहिलो चरणकोचुनाव सकिए लगतै ४५ जिल्लाको चुनावी अवस्था आंकलन र चर्चा बढ्न थालेको छ । यस्तै चर्चाको निर्वाचन स्थलको रुपमा काठमाण्डौं क्षेत्र नम्बर–५ लाई पनि हेरिएको छ । जहाँ कांग्रेसको किल्ला भत्काउने नेकपा एमालेका महासचिव इश्वर पोखरेल लागिरहेका छन् । पोखरेलको प्रतिष्पर्धीकोरुपमा कांग्रेस नेता एव पूर्व परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले कडा चुनौति पस्किरहेका छन् ।
यस क्षेत्रमा विभिन्न दल र तीन स्वतन्त्र गरी प्रतिनिधिसभा सदस्यका लागि कूल २० जनाले उम्मेद्वारी दिएका छन् । प्रतिनिधिसभा सदस्यका उम्मेद्वार कांग्रेस नेता डा. महतलाई लोकतान्त्रिक गठबन्धनमा आबद्ध दलहरुको समर्थन छ भने एमाले महासचिव पोखरेल वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेद्वार बनेका छन् । दुवै उम्मेद्वारले यस क्षेत्रका विकास निर्माणका मुद्दालाई प्राथमिकतामा राखेर चुनाव प्रचार र घरदैलो अभियानलाई तीव्रता दिइरहेका छन् । पोखरेल यस क्षेत्रबाट तेस्रो पटक उम्मेद्वार भएका छन् भने महत यस क्षेत्रमा पहिलो पटक निर्वाचन भिड्दै छन् ।
महासचिव पोखरेल यसअघि २०६४ र २०७० सालका दुवै संविधानसभाको निर्वाचनमा कांग्रेस नेता नरहरि आचार्यसँग पराजित भएका थिए । यस क्षेत्रमा अन्य उम्मेद्वार पनि चुनावी प्रचार–प्रसारमा व्यस्त रहे पनि बढी चर्चा भने महत र पोखरेलको नै छ । महासचिव पोखरेल यस क्षेत्रमा दुई पटक पराजय भोगिसकेकाले यो पटक कांग्रेसको किल्ला भत्काएर निर्वाचन जित्ने रणनीतिमा छन् । उता डा. महतले कांग्रेसले दुई पटक सहजै विजय हासिल गरेको भन्दै यस क्षेत्रमा आगामी निर्वाचनमा पनि कांग्रेसले नै जित्ने आंकलन गरिरहेका छन् ।
प्रतिनिधिसभा सदस्यका लागि यस क्षेत्रमा उम्मेद्वारी दिएका अन्य उम्मेद्वारहरु विवेकशील साझा पार्टीका उज्जवलबहादुर थापा, नेकपा (माले) का दीपक पुनमगर, संघीय समाजवादी फोरमका लक्ष्मी राई, राष्ट्रिय जनता पार्टी नेपालका भानुकुमार खड्कालगायत २० जना पनि चुनावी मैदानमा छन्। कांग्रेस नेता डा. महतले यस क्षेत्रभित्रका नगरहरुलाई व्यवस्थित र सुन्दर शहरका रुपमा विकास गर्न सडक निर्माण, स्तरोन्नति, खानेपानी, ढल तथा फोहर व्यवस्थापन, सार्वजनिक शौचालय, व्यवस्थित प्रतीक्षालय, पार्किङस्थल र बजारको व्यवस्थित विकासका लागि निरन्तर क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरिरहेका छन् । नेता डा. महतले यस क्षेत्रमा अवस्थित बूढानीकण्ठमा अवस्थित पौराणिक, ऐतिहासिक र धार्मिकस्थलको बृहत्तर र सुव्यवस्थित विकास तथा रानीवन क्षेत्रलाई संरक्षण गरी व्यवस्थित नमूना पार्क निर्माण गरी समुदायको हितमा प्रयोगमा ल्याउने योजना अघि सारेका छन् ।
महासचिव पोखरेलले यस क्षेत्रलाई देशकै ‘अस्पताल हब’ बनाउन स्थानीय जननिर्वाचित संस्था, प्रदेश सरकार र केन्द्रीय सरकारलाई क्रियाशील बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले ‘मनमोहन ज्येष्ठ नागरिक सदन’ ‘स्वरसम्राट नारायण गोपाल प्रतिष्ठान’ अन्तर्गत अडोटोरियम हल निर्माण, इतिहास बोकेको हाँडीगाउँको विकासलाई विशेष जोड दिने उल्लेख गरेका छन् । पूर्व उपप्रधानमन्त्री समेत रहेका उनी भन्छन्–‘राजधानीसँग जोडिएको शिवपुरी राष्ट्रिय निकुञ्जलाई केन्द्रित गरी पर्यावरणीय पर्यटन, साइक्लिङ जोनको प्रवद्र्धन, भ्यूटावर निर्माणमा जोड दिनेछु । महिला गरीब तथा विपन्न समुदाय र बेरोजगार युवालाई लक्षित गरी रोजगारी र स्वरोजगारीका अवसर सिर्जना गरेर अघि बढ्न प्रोत्साहित गर्नेछु ।’ निर्वाचन जित्न पोखरेललाई वाम गठबन्धनका र डा. महतलाई लोकतान्त्रिक गठबन्धनका सबै मत तान्नैपर्ने चुनौती देखिन्छ । निर्वाचनमा कसले बाजी मार्ला भनेर हेर्न भने मंसिर २१ को निर्वाचन र मत परिणाम कुर्नै पर्छ ।