सिटौलाको घरमा बम विष्फोट, लालबाबुलाई सुतली बम प्रहार

सहयात्रा टिभी

काठमाण्डौं । दोस्रो चरणको प्रतिनिधि तथा प्रदेशसभाका उम्मेद्वारमाथि मंगलबार बम आक्रमण भएको छ । नेपाली कांग्रेसका नेता एवम् झापा क्षेत्र नं. ३ प्रतिनिधिसभा सदस्य उम्मेद्वार कृष्णप्रसाद सिटौलाको झापास्थित घरमा बम विष्फोट भएको छ ।

सदरमुकाम चन्द्रगढीस्थित घरको पछाडिपट्टि कम्पाउण्डमा सुतली बम विष्फोट भएको हो । बम विष्फोटबाट पर्खालको ईंटा भत्किएको छ । झापाका प्रहरी प्रमुख विष्णुकुमार केसीले बम विष्फोटबाट घरको कम्पाउण्ड वाल भत्किएको र ठूलो क्षति नभएको जानकारी दिए । गए राति करीब १२ः४५ को समयमा बम विष्फोट भएको थियो । सो समयमा नेता सिटौला परिवारका सदस्यहरुसहित घरभित्रै थिए । बम विष्फोटमा संलग्न भएको आशंकामा शंकास्पद एक जनालाई पक्राउ समेत गरेको झापा प्रहरी प्रवक्ता जितेन्द्रकुमार बस्नेतले जानकारी दिए ।

यता मोरङ–६ का वाम गठबन्धनका उम्मेद्वार लालबाबु पडितलाई लक्षित गरेर मंगलवार बिहान सुतली बम विष्फोट भएको छ । प्रतिनिधिसभा उम्मेद्वार पण्डित र प्रदेशसभा उम्मे्दवार जीवन आचार्यलाई लक्षित गरी बुढीगंगा गाउँपालिका–५ र ६ को सीमानामा मंगलबार बिहान सुतली बम प्रहार भएको हो । मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले पण्डित र आचार्यलाई लक्षित गरेर बम विष्फोट भएको पुष्टि गर्दै दुवै जना सकुसल रहेको जानकारी दिए । अहिले उक्त क्षेत्रलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको जनाइएको छ ।

प्रकाशित : 28 November, 2017

प्रतिक्रिया दिनुहोस्