केपी ओली प्रचण्ड माधव नेपाल एमाले


धर्मगुरुको विद्यालयमै बिएडको पढाइ

सहयात्रा टिभी

इलाम । किरात धर्मगुरु आत्मनन्द लिङ्गदेनको गाउँ इलामको माङ्गसेबुङ्गमा पहिलोपल्ट स्नातक तहसम्मको पढाइ हुने भएको छ ।
गुरुको नाममा सञ्चालित ‘आत्मनन्द बहुमुखी क्याम्पस’ मा पहिलो पटक चार वर्षे विएडको पढाइ थालिएको हो । जिल्लाकै दुगर्ममध्येको एक माङ्गसेबुङ्गका उच्च शिक्षा गर्ने विद्यार्थीहरु गाउँमा पढ्ने ठाउँ नभएकै कारण छिमेकी जिल्ला झापासम्म गएर डेरा बस्नु परेपछि यो समस्या हल गर्न यस पटकदेखि गाउँमै विएडको पढाइ शुरु गरिएको क्याम्पसले जनाएको छ ।

स्थानीय शैक्षिक अगुवाहरूको सक्रियतामा यस वर्ष उच्च शिक्षा अध्ययनका लागि माङ्गसेबुङ्गमा क्याम्पस सञ्चालन गरिएको हो । आत्मनन्द बहुमुखी क्याम्पसका प्रमुख होमबहादुर लिङ्देनका अनुसार त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा यस वर्षदेखि उच्च शिक्षातर्फ पठनपाठन थालिएको हो । कक्षा सञ्चालन स्थानीय भालुटार माध्यमिक विद्यालयमा हुने र पहिलो वर्ष क्याम्पसमा ३६ जना विद्यार्थी भर्ना भएका छन् ।

क्याम्पसका सहायक प्रमुख अबोध अविरलले तीन वर्ष लामो तयारीपछि औपचारिक रूपमा क्याम्पस सञ्चालन गर्न सकिएको बताए । उनले भने–‘भौतिक असहजता, आर्थिक अभाव जस्ता समस्यासँग जुध्दै आफ्नै ठाउँमा शिक्षालय स्थापना गर्न सफल भयौं ।’ क्याम्पसले बिएडसँगै आगामी शैक्षिक सत्रदेखि बिबिएस संकायको पठनपाठन समेत सञ्चालन गर्ने जनाएको छ ।

माङ्गसेबुङ्गमा उच्च शिक्षाका लागि क्याम्पस सञ्चालनमा आएपछि त्यस क्षेत्रका विद्यार्थीहरू टाढा–टाढा गएर अध्ययन गर्नुपर्ने समस्याबाट मुक्ति मिलेको स्थानीय शिक्षक शक्ति साँवाले बताए । माङ्गसेबुङ्ग धार्मिक तथा पर्यटकीय हिसाबले महत्वपूर्ण मानिन्छ । यस क्षेत्रमा ताप्लेजुङ, पाँचथर, इलामका विभिन्न गाउँबाट किरात समुदायका मानिस बसाइँ सरी गएका छन् ।

प्रकाशित : 28 November, 2017

प्रतिक्रिया दिनुहोस्