इन्धन खपतमा नयाँ रेकर्ड

सहयात्रा टिभी

काठमाण्डौं । चुनावी गतिविधि बढेसँगै पेट्रोलियम पदार्थ खपतले नयाँ रेकर्ड बनाएको छ । निगमका अनुसार भदौ १६ देखि मंसिर ४ गतेसम्म १ लाख १० हजार ८ सय किलोलिटर पेट्रोल खपत भएको छ । गत आर्थिक वर्ष २०७३–७४ को १२ महिनामा ४ लाख २ हजार २ सय ७८ किलोलिटर खपत भएको थियो । यो तथ्याङ्क २ महिना २२ दिनको हो । ‘यही क्रम जारी रहे दोस्रो चरणको चुनाव सकिँदासम्म लगभग गत वर्षको आधा खपत हुनेछ’–नेपाल आयल निगमले भनेको छ । निगमको तथ्याङ्कले भदौयता इन्धन खपत क्रमिक रूपले बढ्दै गएको देखाएको छ।

भदौ १६ देखि असोज १४ सम्म ३५ हजार ५ सय किलोलिटर पेट्रोल खपत भएको थियो । त्यसपछि कात्तिक १६ सम्म आइपुग्दा एक महिनामै ४२ हजार ३ सय लिटर पुग्यो । यो अघिल्लो महिनाभन्दा ६ हजार ८ सय किलोलिटर बढी हो । कात्तिक १६ देखि मंसिर ४ सम्म खपत अझ बढेको देखिन्छ । २२ दिन अवधिमा मात्र ३३ हजार किलोलिटर खपत भएको छ ।

‘यो विकासका काम अघि बढ्ने समय हो । त्यसले मात्र इन्धनको माग यसरी बढाउँदैन । चुनावले नै इन्धन आयात र विक्री हालसम्मकै उच्च बनाएको छ’–निगमका कार्यकारी निर्देशक सुशील भट्टराईले भने । आयल निगमले भदौ १६ देखि मंसिर ४ गतेसम्म जति इन्धन बेचेको छ, त्यति इन्धन यही अवधिमा अहिलेसम्म विक्री भएको थिएन । ‘निर्वाचनले इन्धन माग उच्च बनाएको छ’–भट्टराईले भने–‘आपूर्ति गर्न नै हम्मे परिसक्यो ।’

गत भदौ १६ देखि असोज १४ सम्म ८३ हजार किलोलिटर खपत भएको डिजेल अर्को एक महिना (असोज १६ देखि कात्तिक १४ सम्म) मा १७ हजार बढेर १ लाख पुगेको भट्टराईले जानकारी दिए । कात्तिक १४ देखि मंसिर ६ गतेसम्म करीब २२ दिनमा मात्रै डिजेल खपत २ लाख ८६ हजार किलोलिटर पुगिसकेको छ । गत आर्थिक वर्षभरीमा १२ लाख ९७ हजार किलोलिटर डिजेल खपत भएको थियो । पेट्रोल–डिजेल मात्र होइन, हवाइ इन्धनको अवस्था उस्तै छ ।

भदौ १६ देखि असोज १४ गतेसम्म १७ हजार किलोलिटर हवाइ इन्धन खपत भएको छ। कात्तिक १४ सम्म ३ हजार ५ सय किलोलिटर बढेर १९ हजार ५ सय पुगेको छ । कात्तिक १४ देखि मंसिर ६ गतेसम्म २२ दिन अवधिमा खपत अझै बढेर २१ हजार ५ सय किलोलिटर पुगेको छ। २ महिना २२ दिनमा ५७ हजार किलोलिटर पुगेको छ । गत आर्थिक वर्षमा १ लाख ६४ हजार २ सय ९९ किलोलिटर हवाइ इन्धन खपत भएको थियो । यसरी हेर्दा गत वर्षको १२ महिनामा भएको खपतको आधा चुनावी ३ महिनामै हुने देखिएको निगमका निमित्त कार्यकारी निर्देशक भट्टराईले बताए ।

प्रकाशित : 28 November, 2017

प्रतिक्रिया दिनुहोस्