नेपाली क्रिकेटले पायो बायाँ हाते ब्याट्सम्यान

सहयात्रा टिभी

काठमाण्डौं । नेपाली टोलीमा बायाँ हाते ब्याट्सम्यानको खोजी भइरहेका बेला बायाँ हाले ओपनिङ ब्याट्सम्यान दिलिप नाथले टिममा पुनरागमन पाएका छन् ।

गत वर्ष भएको एसीसी इमर्जिङ नेशन्स कप क्रिकेटमा नेपाली टोलीमा परेका नाथ त्यसयता राष्ट्रिय टिममा स्थान बनाउन प्रयासरत थिए । राष्ट्रिय टिममा दिलिप नाथको प्रवेशले लामो समयदेखि नियमित विकेट किपरको अभाव झेलेको नेपालको यो समस्या हल भएको छ । एसीसी इमर्जिङ टिम्स कपमा नाथले दुई खेल खेलेका थिए । उनले बंगलादेशबिरुद्ध ४१ र हङकङबिरुद्ध १२ रन बनाएका थिए । नेपालले आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको अन्तिम चरण अन्तर्गत युएईबिरुद्धको खेलका लागि राष्ट्रिय टोलीको घोषणा गर्दा एक जना लेफ्ट हृयाण्डेड ब्याट्सम्यानले स्थान पाएका हुन् ।

आइसीसी प्रतिनिधि अनिमुल इस्लाम, टोलीका मुख्य प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्काले ४ अतिरिक्त खेलाडीसहित १८ जनाको नेपाली टोली घोषणा गरेका छन् । नेपाली टोलीका सदस्यहरुमा पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल (उपकप्तान), शक्ति गौचन, बसन्त रेग्मी, शरद भेषावकर, बिनोद भण्डारी, सोमपाल कामी, सागर पुन, मोहम्मद आरिफ शेख, करण केसी, सन्दिप लामिछाने, दिपेन्द्र सिंह ऐरी, दिलिप नाथ र ललित भण्डारी छन् । त्यस्तै चार अतिरिक्त खेलाडीमा कुशल भूर्तेल, अनिलकुमार साह, जीतेन्द्रकुमार मुखिया र सिद्धान्त लोहनी छन् । चारमध्ये कुशल र अनिल मात्र युएई भ्रमणमा जानेछन् ।

नेपालले मंसिर २० र २२ गते युएईसँग २ खेल खेल्नेछ । आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपबाट बाहिरिइसकेको नेपालका लागि अन्तिम खेल प्रतिष्ठाको लागि मात्र हुनेछ । त्यसअघि नेपालले मंसिर १५ गते अमेरिका र १७ गते केन्यासँग दुई अभ्यास खेल खेल्ने छ । नेपाली टोली बुधबार युएई प्रस्थान गर्ने जनाइएको छ ।

प्रकाशित : 28 November, 2017

प्रतिक्रिया दिनुहोस्