तनहुँमा कसले तान्ला बढी मत ?
तनहुँ । नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलको गृह जिल्ला तनहुँ पनि अहिले चुनावी गतिविधिले तातिएको छ । विशेष गरी तनहुँको क्षेत्र नम्बर–१ को प्रतिनिधिसभा उम्मेद्वार रामचन्द्र पौडेल र कृष्णकुमार श्रेष्ठ किसानबीचको प्रतिष्पर्धालाई तनहुँबासीले चासोका साथ हेरिरहेका छन् ।
प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनको मिति नजिकिंदै गर्दा कांग्रेस– बाम गठबन्धनका कार्यकर्ता अंक गणितीय हिसावले मतको लेखाजोखामा लागेका छन् । नेपाली कांग्रेसमा रहेर उच्च पदमा पुग्दा समेत नेता पौडेलले जिल्लाको समग्र विकासमा खासै चासो नदेखाएको र युवापुस्तालाई चुनावी माहोलमा भ¥याङ मात्रै बनाउने प्रवृत्तिले पौडेललाई आफ्नै कार्यकर्ताबाट धोका हुनसक्ने अनुमान जिल्लाबासीको छ ।
साविकको क्षेत्र नम्बर–२ कांग्रेसको बलियो पकड मानिए पनि साविकको क्षेत्र नम्बर–१ का बाम गठबन्धनको बलियो आधार भएका कारण पनि सहजै रुपमा जित्न सक्ने अड्कलबाजी बाम गठबन्धनको छ । कांग्रेसको किल्ला मानिएको यस क्षेत्रमा यस पटकको निर्वाचनमा नतिजा अनपेक्षित आउन सक्ने केही कांग्रेसी कार्यकर्ताकै आंकलन छ ।
यस पटकको निर्वाचनमा नेता पौडेलले बाजी मार्न नसके पौडेलको राजनीति नै धरापमा पर्न सक्ने खतरा देखिएको उनीहरुको अड्कल छ । बामगठबन्धनको तर्फबाट तनहुँ क्षेत्र नम्बर–१ मा प्रतिनिधिसभाका उम्मेद्वार कृष्णकुमार श्रेष्ठ किसानले चुनावी प्रचार अभियानलाई तीव्र बनाएका छन् । घरदैलो चुनावी अभियानमा रहेका बाम गठबन्धन क्षेत्र नम्बर–१ का उम्मेद्वार श्रेष्ठ जिल्लाको भानु नगरपालिकाको विभिन्न क्षेत्रमा आयोजित सभा सहभागी भइरहेका छन् ।
श्रेष्ठको आफू निर्वाचित भएमा जिल्लाको विकास निर्माणमा केन्द्रित भएर लाग्ने बताएका छन् । खानेपानी, बाटो, बिजुलीको साथसाथै बेरोजगारलाई रोजगारी दिलाउने, पर्यटकीय क्षेत्रको विकास गर्ने नेता श्रेष्ठको भनाइ छ । चुनावी प्रचार प्रसारको क्रममा कांग्रेस नेता पौडेलले पनि आफू सदैब तनहुँको बिकासमा लाग्ने नेता भएको बताएका छन् । तनहुँको विकासमा आफ्नो योगदान पनि रहेको बताउँदै नेता पौडेलले अब देश विकास निर्माणको चरणमा रहेकाले तनहुँको विकासका लागि आफूले कुनै कसर बाँकी नराख्ने वाचा गरेका छन् ।