सुत्केरी बोकेको जीप दुर्घटना हुँदा ३ को मृत्यु, ६ घाइते

सहयात्रा टिभी

कालिकोट । कालिकोटको खाँडाचक्र नगरपालिका–१ मा सुत्केरी बोकेको जीप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै ज्यान गएको छ भने ६ जना घाइते भएका छन् । जिल्ला अस्पताल नजिकैको मोडमा बलेरो जीप दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा मुगु भिइ–७ का ४५ वर्षीया जयरुप बुमी, श्रीनगर–३ का ४६ वर्षीयका नरविक्रम मल्ल र जुम्ला चन्दनाथ–१४ कार्तिकस्वामिका यदुराज न्यौपाने रहेको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ । मुगुबाट सुत्केरी महिलासहित नौ जना यात्रु रहेको बताइएको छ । मुगुबाट सुर्खेत जाँदै गरेको लु २ च २००३ नम्बरको बलेरो जीप कालीकोटको जिल्ला अस्पताल मोडमा आज बिहान दुर्घटना हुँदा तीन जनाको घटनास्थलमा मृत्यु भएको हो ।

घाइते हुनेमा मुगुका विष्णुराज धामी, लक्ष्मी रावत, किसिम काकी, मायालक्ष्मी मल्ल, हुम्लाका सन्तबहादुर शाही र बाँके नेपालगञ्जका चालक यन्द्रप्रसाद थारु रहेको बताइएको छ । घाइतेको उपचार जिल्ला अस्पताल कालीकोटमा भइरहेको बताइएको छ । जीप दुर्घटनाको कारण अहिलेसम्म खुल्नसकेको छैन ।

प्रकाशित : 29 November, 2017

प्रतिक्रिया दिनुहोस्