आयआर्जनमा मुक्त कमलरी

सहयात्रा टिभी

कञ्चनपुर । विगतमा स्थानीय साहु महाजनकोमा श्रम गर्दै आएका मुक्त कमलरीहरु अहिले आफै आत्मनिर्भर बन्न थालेका छन् ।
विभिन्न व्यवसाय र सीपको माध्यमबाट कञ्चनपुर झलारीका मुक्त कमलरीहरु अहिले व्यवसायिक बन्न थालेका छन् ।

उनीहरु सहकारी संस्था सञ्चालन गरेर आयआर्जनका काम गरी आत्मनिर्भर हुन थालेका छन् । मुक्त कमलरी बचत तथा ऋण सहकारी संस्थामा आवद्ध मुक्त कमलरीले बचत रकम संकलन गरी सोही रकमलाई ऋणका रुपमा परिचालन गरेर आजआर्जन गर्न थालेका हुन् । सहकारीबाट ऋणका रुपमा रकम लिएकी सरिता चौधरीले कपडा सिलाइ पसल सञ्चालन गरी दैनिक पाँच सय रुपैंयाँ भन्दा बढी आम्दानी गर्दै आएकी छन् । सहकारीबाट उनले १४ प्रतिशत ब्याज तिर्ने गरी ११ हजार ऋण लिएकी छन्न् ।

एक महिनामै सिलाइ मेशिन खरिद गर्न लिएको ऋण चुक्ता गरी मासिक रुपमा उनले १५ हजारदेखि १७ हजारसम्म कमाइ गर्दै आएकी छन् । चौधरीले भनिन्–‘मालिकको घरबाट मुक्त हुँदा न हातमा सीप थियो न त केही गर्नका लागि रकम नै ।’ ‘दातृ संस्थाले सीप सिकायो, त्यसपछि सहकारीमा आवद्ध भएँ, ऋण लिएर काम गर्न थालेपछि दिन प्रतिदिन आम्दानी बढ्न थालेको छ’–उनले भभिन्–‘पूरै घर खर्च सिलाइको पैसाबाट आउने आम्दानीले धान्दै आएको छु । ”

उनी जस्तै सहकारीबाट ऋण लिएर दैजीको भम्कामा खाजा पसल सञ्चालन गर्दै आएकी सीता डगौराले समेत मनग्य आम्दानी गर्दै आएकी छन् । सो पसलबाट उहाँको मासिक ३० हजार भन्दा बढी आम्दानी हुने गरेको छ । सहकारीमा आवद्ध तीन दर्जन बढी मुक्त कमलरीले आयआर्जनका लागि सीप सिकेर आम्दानी गर्दै आएको सहकारीका सचिव कलवती डगौराले बताइन् ।

उनका अनुसार हालसम्म सहकारीले आयआर्जनका लागि ६ लाख १७ हजार ३११ रकम परिचालन गरेको छ । सहकारीमा आवद्ध १५९ जनाको दुई लाख ४८ हजार बढी रकम बचत भएको छ । सहकारीले बचत गर्ने कमलरीलाई चारदेखि नौ प्रतिशत प्रतिशतसम्म ब्याज उपलब्ध गराउँदै आएको छ । कृषि, व्यापार, घरायसी खर्च, घडेरी खरिद र स्वास्थ्य उपचारका लागि ऋण समेत उपलब्ध गराउँदै आएको सचिव डगौराले बताए ।

प्रकाशित : 29 November, 2017

प्रतिक्रिया दिनुहोस्