केपी ओली प्रचण्ड माधव नेपाल एमाले


विदेशमा पनि लोकप्रिय बन्दै नेपाली छुर्पी

सहयात्रा टिभी

पाँचथर । पूर्वी पहाडी जिल्लामा उत्पादन हुँदै आएको छुर्पी पछिल्लो समय अन्य देशमा पनि लोकप्रिय हुँदै गएको छ । ताप्लेजुङको फुङलिङ, पाँचथरको फिदिम, इलामको इलाम बजारमा छुर्पी सजाइएको दृष्यले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा समेत माग बढ्दै गएपछि चौंरीगाईको दूधबाट बन्ने यो परिकारको मागसँगै उत्पादन पनि बढेको अनुमान लगाउन सकिन्छ ।

शेर्पा भाषामा ‘शेर्कम’ तथा भुटानको राष्ट्रिय भाषा जोङ्खामा ‘दुरुकोवा’ वा ‘दुरुखो’ हुँदै नेपाली बोलीचालीको भाषामा ‘दुर्खा’ भनिने यस परिकारले स्वदेशमा मात्र होइन पश्चिमा देशमा पनि राम्रो बजार पाउँदै गएको छ । नेपालमा उत्पादन हुने छुर्पी कुकुरको राम्रो आहारा (डग च्यू) का रुपमा पश्चिमा मुलुकमा निर्यात बढ्दै गएको छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका नायब कार्यकारी निर्देशक सुयस खनाल भन्छन्–‘बर्षेनी माग बढ्दै गएकाले नेपालको दुग्ध उत्पादन विदेशी बजारमा राम्रो देखिन्छ ।’ निकासी प्रवद्र्धन केन्द्रका अनुसार गत आर्थिक वर्ष २०७३÷७४ मा ५४ करोड ८० लाख बराबारको छुर्पी निर्यात भएको थियो ।

सबैभन्दा बढी अमेरिकामा ४७ करोड ४६ लाख अर्थात् झण्डै ८७ प्रतिशत निर्यात भएको छ । अघिल्लो वर्ष अर्थात् २०७२÷७३ मा ४२ करोड ७० लाख बराबरको छुर्पी निर्यात भएको थियो । ताप्लेजुङ, पाँचथर, तेह्रथुम, इलाम, दोलाखा, संखुवासभाजस्ता जिल्लामा छुर्पी उत्पादन हुँदै आएको छ । यहाँ उत्पादन हुने छुर्पी अमेरिका, क्यानाडा, मेक्सिको, जापान लगायतका मुलुकमा पनि बिक्री हुँदै आएको छ । यी देशमा विगत आठ वर्षदेखि छुर्पी निर्यात हुँदै आएको हो । शुरुका वर्षको तुलनामा मागसँगै निर्यात पनि वृद्धि भएकाले त्यस्ता उद्योग तथा उत्पादनको प्रवद्र्धनमा लाग्नुपर्ने नायब कार्यकारी निर्देशक खनाल बताउँछन् ।

२०६९ सालदेखि छुर्पी उत्पादन गर्दै आएका पाँचथर–८, रानीटारका इन्द्र गुरुङले पनि छुर्पी उत्पादनमा जोड दिँदै आएका छन् । उनले पौवाभञ्ज्याङ चीज उत्पादन केन्द्र स्थापना गरेर छुर्पी, नौनी, चीज र पनिर उत्पादन गर्दै आएका छन् । पोखरा, सोलु, काठमाण्डौं, विराटनगर, धरान, विर्तामोडजस्ता स्थानीय बजारलाई केन्द्रित गरेर आफ्ना उत्पादन बिक्री गर्दै आएका गुरुङको लक्ष्य अन्तर्राष्ट्रिय बजारसम्म पुग्ने छ । उनी बाहेक ताप्लेजुङ र पाँचथरको सिमाना राँके तथा जोरपोखरीको सरकारी डेरीले मात्र यस जिल्लामा चीज तथा छुर्पी उत्पादन गर्दै आएको छ ।

प्रकाशित : 29 November, 2017

प्रतिक्रिया दिनुहोस्