केपी ओली प्रचण्ड माधव नेपाल एमाले


इलामका ‘हेवीवेट’ लाई युवा उम्मेद्वारको चुनौति

सहयात्रा टिभी

इलाम । नेपालको राजनीतिलाई अधिकांश समय नेतृत्व गर्दै आएको इलाममा मंसिर २१ नजिकिएसँग चुनावी माहौल तातिएको छ ।
पूर्व प्रधानमन्त्री झलनाथ खनाल र पूर्वसभाको सुवासचन्द्र नेम्वाङको जिल्ला भएका कारण पनि इलामको राजनीतिक गतिविधि सबैको चासोको विषय बनिरहेको छ । यस्तै पूर्व राज्यमन्त्री समेत रहेका लोकतान्त्रिक गठबन्धनका उम्मेद्वार केशव थापा पनि प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा उम्मेद्वार छन् । इलामका यी तीन ‘हेवीवेट’ उम्मेद्वारको चुनावी प्रतिष्पर्धालाई रोचक रुपमा हेरिएको छ ।

स्थानीय निर्वाचनमा इलामका अधिकांश निर्वाचन क्षेत्रमा आफ्नो वर्चश्व कायम गरेको नेकपा एमाले वाम गठबन्धनका उम्मेद्वारलाई सबै क्षेत्रबाट जिताउने दाऊमा छ भने लोकतान्त्रिक गठबन्धन भने आफ्ना उम्मेद्वारबाट हिजोको इतिहासलाई उल्टाउने रणनीतिमा छन् । तीन निर्वाचन क्षेत्र रहेको इलाममा अहिले दुबै गठबन्धनका उम्मेद्वार नागरिकको घरदैलोमै पुगेर आफूलाई जिताउन आग्रह गरिरहेका छन् । चुनावको मिति नजिकिंदै जाँदा पूर्व प्रधानमन्त्री झलनाथ खनालको चुनावी खटाई पनि बढेको छ । खनाल र नेम्वाङ्ग अहिले आफ्नो निर्वाचन क्षेत्र मात्र नभई अर्को निर्वाचन क्षेत्रका आफ्ना उम्मेद्वारको सभा, अभियानमा भोट माग्न व्यस्त देखिन्छन् । निर्वाचन क्षेत्र नम्बर–१ का उम्मेद्वार रहेका खनाल माइ नगरपालिकाका अधिकांश गाउँका नागरिकलाई भेटघाट गरिसकेको बताउँछन् ।

२०४६ सालबाट लगातार इलाम क्षेत्र नम्बर–१ को उम्मेद्वार बन्दै आएका खनालले २०५६ को बाहेक सबै चुनावमा जीत हात पारेका छन् । २०५६ सालको संसदीय निर्वाचनमा नेपाली कांग्रेसका बेनुपराज प्रसाईंले खनाललाई नै पराजित गरेका थिए । २०६४ सालको संविधानसभा निर्वाचनमा पुनः खनालले प्रसाईंलाई पराजित गरे । खनालले ०७० को संविधानसभा निर्वाचनमा कांग्रेसका वर्तमान जिल्ला सभापति हिमालय कर्माचार्यलाई १ नम्बर क्षेत्रमा पराजित गरे । खनालले १७,३४२ र कर्माचार्यले १५,५२७ मत प्राप्त गरेका थिए ।

त्यसै गरी ओवादीका युवकुमार पौडेल ४,४२० मत प्राप्त गर्दै चौथो स्थान बनाएका थिए । पहिलो संविधानसभामा बिजयी बनेपछि प्रधानमन्त्री समेत बन्न सफल खनाललाई इलाम क्षेत्र नम्बर–१ मा विकासका निर्माणका कार्यहरु कम चासो दिएको गुनासो सुनिने गरेको भए पनि धेरै नागरिक राष्ट्रिय राजनीतिका लागि खनालको अनिवार्य उपस्थिति हुनुपर्ने बताउँछन् । आफू इलामकै भएका कारण नागरिकको अपेक्षा आफूमाथि धेरै हुनु स्वभाविक रहेको बताउने खनाल भने आफूले जिल्लाको विकासका लागि नागरिकले सोंचे जति नभए पनि धेरै काम गरेको बताउँछन् । विगत २ दशकदेखि इलाम क्षेत्र नम्बर–१ मा एकछत्र राज गरिरहेका खनाललाई चुनौती दिन यस पटक नेपाली कांग्रेसले पूर्व क्षेत्रीय सभापति भूपेन्द्र कट्टेललाई अगाडि सारेको छ । ठूला–ठूला एजेण्डाभन्दा गाउँघरमा रहेको स्रोतसाधन परिचालन गर्दा नै समृद्ध बन्न सकिन्छ भन्ने धारणा राख्ने कट्टेल जनतालाई करमा सरलीकृत गर्न सके गाउँमा समृद्धि आफै आउने बताउँछन् । उनी अहिले स्थानीय मुद्दाहरु नै बोकेर जनताको घर आँगन गरिरहेका छन् ।

यस्तै इलाममा पहिलो पटक विवेकशिल साझा पार्टीले पनि उम्मेद्वार उठाएको छ । विवेकशिल साझाको तर्फबाट सूर्योदय नगरपालिका–४ का युवा सचेन घले चुनावी मैदानमा छन् । अंग्रेजीमा स्नातकोत्तर घले डेढ दशक लामो खनालको विजय यात्राबाट जनता निरास बनिसकेको भन्दै आफूले जिते गाउँको मुहार फेर्ने दावी गर्छन् । प्रतिनिधि सभामा खनालकै क्षेत्रबाट अर्का युवा मानवीर लाप्चाले पनि प्रतिष्पर्धा गर्दैछन् । २९ वर्षीय लाप्चाले नयाँशक्ति पार्टीबाट उम्मेद्वारी दिएका छन् । १० वर्ष माओवादी केन्द्रका कार्यकर्ताको रुपमा काम गरेका लाप्चाले वैकल्पिक राजनीति र समृद्ध नेपाल निर्माणका लागि ठूलो जनमत देखिएकाले त्यो जनमतलाई संस्थागत गर्न नयाँशक्तिबाट उम्मेदवारी दिएको बताए ।

प्रकाशित : 29 November, 2017

प्रतिक्रिया दिनुहोस्