केपी ओली प्रचण्ड माधव नेपाल एमाले


यस्तो छ बोहोरा र भुषालको भिडन्त

सहयात्रा टिभी

रुपन्देही । अन्य जिल्लाहरुमा जस्तै रुपन्देहीमा पनि चुनावी राप बढेको छ । रुपन्देहीको राजनीतिमा अहिले स्वास्थ्यमन्त्री तथा राप्रपा प्रजातान्त्रिकका दिपक बोहोरा र वामगठबन्धनका घनश्याम भुषालको चुनावी भिडन्तले रोचक मोड लिइरहेको छ ।

रुपन्देहीको क्षेत्र नम्बर–३ मा अहिले यी दुबै उम्मेद्वार आफूलाई जिताउन आग्रहगर्दै जनतासँग नजिक भइरहेका छन् । चुनावी मैदानमा उत्रिएका यी दुई उम्मेद्वारहरुको राजनीतिक चरित्र भने फरक छ । पञ्चालयत कालदेखि गणतन्त्रसम्म भुसाल र बोहोराको सम्बन्ध सँधै चिसो रहेको स्थानीय बताँउछन् । स्थानीय ब्यवसायी धर्मराज ज्ञवाली भन्छन्–‘पञ्चायतकालदेखि नै हाटहुटे ग्याँङको नेतृत्व बोहोराले गरे भने भुसालले क्रान्तिकारी युवाहरुलाई समेटदै ३६ सालतिरबाट अखिलको राजनीति गरे ।’ यता बोहोराको चुनावी सभामा भेटिएका एक ब्यापारी नारायण चन्दले भने–‘अरुले मण्डले भनेर प्रचार गर्छन्, विकास निर्माण सबै बोहोराले गर्छन्, घनश्याम भुसाल काठमाडणैं बसेर केन्द्रको राजनीति गर्छन्, उनलाई विकास निर्माण के हो थाहै छैन । अनि कसले जित्छ चुनाव आफै भन्नुस् ।’

पूर्व रक्षामन्त्री तथा काग्रेस नेता बालकृष्ण खाँडको निर्वाचन क्षेत्र यतिबेला राप्रपाका दिपक बोहोराले हाइज्याक गरेका छन् । उता खाँड भने समानुपातिकमा थन्किएका छन् । मन्त्री बोहोराले जनताले मुख्य रुपमा विकासको चाहना राखेको बताउँदै जनताले आफ्नो क्षेत्रको विकास, कालोपत्रे बाटो, खानेपानी सुविधा चाहेको बताए । संविधान जारी पछि त्यसको कार्यान्वयन र लोकतन्त्रको रक्षा र विकास निमार्ण चाहेकोले त्यो पूरा गर्न आफू चुनावी मैदानमा होमिएको उनको प्रतिक्रिया थियो ।

तत्कालीन रुपन्देही क्षेत्र नं. २ मा ७० सालमा आफूलाई विजयी गराएपछि उक्त क्षेत्रका ८५ वडामा आफूले गरेको विकास निर्माण र पूर्वाधार विकासलाई हेरेर आफूलाई विजयी गराउने दावी गरे । एमालेका उपमहासचिव समेत रहेका घनश्याम भुसालले गाउँपालिका, नगरपालिकाको मत बाम गठबन्धनको पक्षमा रहेको, स्थानीय तहको नेतृत्व पनि बाम गठबन्धनको पक्षमा रहेकोले सजिलै जीत निकाल्ने बताएका छन् । उनले नेपाली कांग्रेस उनका प्रतिष्पर्धी बोहोराको पक्षमा नरहेको बताउँदै प्रजातन्त्रका लागि लडेका कांग्रेसहरुले हलोमा भोट हाल्न नसक्ने बताए । बोहोराको संगठन पनि राम्रो नभएकोले आफू विजयी हुनेमा कुनै शंका नरहेको भुषालको दावी छ ।

गत स्थानीय तहको निर्वाचनमा यहाँ कांग्र्रेसले ११ हजार १९८ र राप्रपाले पाएको ३ हजार ८३२ गरी लोकतान्त्रिक गठबन्धनको पक्षमा १६ हजार २० मत पाएको थियो । यस्तै एमालेले पाएको १३ हजार ५ सय १७ र माओवादीले पाएको ४ हजार ४०५ गरी वाम गठबन्धनको पक्षमा १७ हजार ९२२ मत रहेको छ । स्थानीय तहको निर्वाचनको अंक हेर्ने हो भने यहाँ वाम गठबन्धन २ हजार ९०२ मतान्तरले अघि रहेको छ । सानो मतान्तर भएका कारण यहाँ दुई गठबन्धनबीच कडा चुनावी प्रतिष्पर्धा हुने आंकलन भइरहेको छ ।

प्रकाशित : 29 November, 2017

प्रतिक्रिया दिनुहोस्