केपी ओली प्रचण्ड माधव नेपाल एमाले


उम्मेद्वारसँग दाउरा माग्दै देउखुरीबासी

सहयात्रा टिभी

देउखुरी । प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन नजिकिएसँगै उम्मेद्वार र मतदाताबीच भोट दिने र विकास दिनेको कुरा चर्को बनिरहेको छ । पटक–पटकको निर्वाचनमा नेताहरुले आफूहरुलाई झुक्याएको बताउँदै यस पटक गाउँमा विकास निर्माणका काम गर्ने नेतालाई मात्र भोट दिने समाचार आइरहेका बेला देउखुरीका नागरिकले भने अलि भिन्न माग उठाएका छन् ।

अन्यत्र स्वास्थ्य, शिक्षा, रोजगारीका माग उठिरहेका बेदा दाङ देउखुरीको एक गाउँका मतदाताले भने आफूहरुलाई दाउरा चाहिने बताइरहेका छन् । दाङ राजपुर गाउँपालिका–४ फोहोराकी ६८ वर्षीया विद्यादेवी यादवले भनिन्–‘जसले दाउरा दिन्छ उसैलाई भोट ।’ चुनावमा नेताहरुले बाँड्ने ठूला–ठूला आश्वासनले राजपुरका बासिन्दालाई छोएको छैन । उनीहरुलाई दैनिक पेट पाल्नै समस्या छ । जङ्गल टाढा छ । सामुदायीक वनमा जतिबेला आवश्यक प¥यो त्यतिबेला बेला दाउरा काट्न पनि पाइँदैन । वनमा जाँदा पनि नजिकमा दाउरा पाइँदैन । पाइहाले पनि बोकेर घरसम्म ल्याउनै समस्या हुन्छ । ग्याँस बाल्ने हैसियत सबैको छैन । त्यसैले अधिकांश फोहोराबासी गोबर सुकाएर बनाइएको गुइँठा बालेर गुजारा चलाउँछन् ।

‘साँझ प¥यो भने भात पकाउनु पर्छ, दाउरा छैन, दाउरा पनि भेटिँदैन’–भोट माग्न आएका वाम गठबन्धनबाट दाङ क्षेत्र नम्बर–१ (ख) का प्रदेशसभा सदस्य उम्मेद्वार रेवतीरमण शर्मासँग विद्यादेवीले भनिन्–‘कि दाउरा देऊ, कि सिलिण्डर ग्याँस देऊ ।’ यहाँ यादव समुदायको बाहुल्य छ । धेरैको पशुपालन ब्यवसाय छ । एउटै घरमा २०–२५ वटा भैंसी पाल्ने चलन छ । दूध र पाडापाडी बेचेर २–४ हजार कमाउँछन् । घाँस दाउरा गर्नेदेखि घरधन्दाको चिन्ता महिलाले लिने गर्छन् । हप्तामा एक दिन जङ्गल खुल्छ । दाउरा संकलन गर्न जङ्गल जान शनिबार पर्खिएर बस्नुपर्छ । हरेक चुनावमा गाउँ आउने नेताहरुले चुनाव जितेपछि सिलिण्डर ग्याँस र गोबरग्याँस जोडिदिने आश्वासन दिएर फर्किन्छन् । तर पूरा नभएको स्थानीयको गुनासो छ । त्यसैले यस पटकको चुनावमा पनि माग पूरा हुनेमा उनीहरुलाई शंका छ । ‘दाउराको सट्टा ग्याँस जोडिदिने त भन्छन् तर, खै के गर्ने हुन्’– यादवले भनिन् ।

यहाँका यादव समुदायका अधिकांश महिलाहरु चुलो चौकोमै सीमित छन् । उनीहरु घरधन्दा सम्हाल्छन् । पुरुषहरु खेतीपाती गर्छन् । महिलाहरुले खेतिपातीमा पुरुषहरुलाई सघाउँछन् । उनीहरुलाई चुनावले खासै छोएको छैन । अहिले केको चुनाव हुँदैछ, कुन पार्टीको सरकार छ मतलव छैन । चिन्ता छ त केबल दैनिक गुजाराको ।

प्रकाशित : 29 November, 2017

प्रतिक्रिया दिनुहोस्