४८ सालदेखिको आश्वासन विजुली र बाटो
नेपालगञ्ज । देशभर प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको चटारो छ । नेताहरु विभिन्न विकास, निर्माणका योजनाको फेहरिस्त लिएर नागरिकको घरदैलोमा पुगिरहेका छन् ।
अहिले नेपालगञ्जको बाँकेमा पनि चुनावी रौनक बढेको छ । दलका उम्मेद्वारहरु आफूहरुलाई यस पटकको चुनावमा जिताए बाँके त्यसमा पनि दुर्गम र विकासमा पछाडि परेको बघौडाको मुहार बदल्ने वाचा गरिरहेका छन् । तर २०४८ सालदेखि नै उम्मेद्वार र नेताहरुको आश्वासन अघाएका वघौडाका बासिन्दामा भने उम्मेद्वारहरुको चिप्लो कुरामा विश्वास छैन ।
जब चुनाव आउँछ, अन्यत्र जस्तै बाँकेको कर्णाली भनिने बघौडामा उम्मेद्वार पुग्छन्, बाटो र विजुली ल्याउँछु भन्छन् । त्यही आशमा कहिले कांग्रेस त कहिले राप्रपा र एमालेलाई जिताएर पठाए तर, लोकतन्त्र आएको छ २६ वर्ष भयो, नत बघौडामा पूर्णरुपले बाटो नै पुग्यो न विजुली । नेपालगञ्जबाट राप्ती नदी तरेर जानुपर्ने बघौडा क्षेत्र बाँके निर्वाचन क्षेत्र नं. १ मा पर्छ । उत्तरमा राप्ती सोनारी गाउपालिका र दक्षिणमा भारतको श्राबस्तीसँग जोडिएको बघौडा क्षेत्र भुगोलले समथर भए पनि अत्यन्तै विकट रहेको छ । त्यहाँ बिजुलीको पोल गाडिएको २ दशक बितिसके पनि विद्युत पुग्नु त कता हो कता गाडिएका पोल पनिमक्किएर जान लागिसके । ०४८ सालदेखि उम्मेद्वारहरुले सडक र बिजुलीलाई चुनावी एजेण्डा बनाएर भोट माग्दै आएको स्थानीयको गुनासो छ । बगौडावासीले ०४८ सालमा कांग्रेसका सैयद मेराज शाहलाई चुनेर पठाए । २०५१ राप्रपाका प्रेमबहादुर भण्डारी सांसद बने । उनले नेपालगञ्जदेखि बघौडासम्म विद्युतीकरणको लागि विद्युतका पोल गाडे तर, विजुली पुगेन । २०५६ सालमा कांग्रेसका ज्ञानु केसीले चुनाव जिते ।
२०४८ सालयता कांग्रेसले दुई तथा राप्रपा, फोरम र एमालेले एक–एक पटक चुनाव जितेको स्थानीइ बताउँछन् । यो क्षेत्रबाट चुनाव जितेका राप्रपाका प्रेमबहादुर भण्डारी, फोरमका इस्तिहाक राई र एमालेका दिनेशचन्द्र यादव मन्त्री समेत भए । तर, सडक र बिजुलीको माग पूरा भएको छैन । एमाले नेता यादवका पालामा हुलाकी सडक निर्माण शुरु भयो । तर, यसले अझै पूर्णता पाएको छैन । विद्युत पु¥याउन सम्भव नभएपछि सोलार वितरण गरिए पनि दीर्घकालीन समाधान दिएन ।
३४ हजार ९ सय ४२ जनसंख्या रहेको नरैनापुर गाउपालिकामा १५ हजार ४३ मतदाता छन् । विद्युतको कुरा चुनावको बेला उठ्ने र चुनाव सकिए लगत्तै सेलाउने क्रम वर्षौंदेखि दोहोरिंदै आएको स्थानीय ओमप्रकाश मौर्य बताउँछन् । बघौडा क्षेत्रमा सरकारले स्वास्थ्य, शिक्षा, सडक र विद्युत् जस्तो आधारभूत सेवा समेत अझैसम्म पु¥याउन नसकेको गाउँलेको गुनासो छ । नागरिकता बनाउँदा र भोट हाल्दा बाहेक नेपाली नागरिक भएको महसुस गर्न नपाएको गुनासो बघौडाबासीको छ । सामुदायिक विद्युतीकरणमार्फत आफ्नो ठाउँमा विद्युत् सेवा पु¥याउन त्यस क्षेत्रका साविकका गाविस फत्तेपुर, कालफाँटा, लक्ष्मणपुर, मटैया, कटकुइया, नरैनापुर र लक्ष्मणपुरले ३०–३० लाख तथा तत्कालीन जिविस बाँकेबाट २० लाख गरी करीब ३ करोड उठाएका थिए । तर, सामुदायिक विद्युतीकरण समितिले बैजापुरको धामपुरमा सवस्टेशन निर्माण बाहेक कुनै काम गरेको छैन ।
कर्णालीको कालीकोटबाट सरुवा भएर नरैनापुरमा आएका एक जना नायब सुब्बाले भने–‘तराईको सुगम ठाउँ भनेर यहाँ आएँ, यो त कालीकोटभन्दा पनि दुर्गम रहेछ ।’ यहाँ सडकको पनि उस्तै बिजोग छ । सदरमुकाम नेपालगञ्जसँग जोड्ने सडक पक्की नहुँदा वर्षाको बेला स्थानीयले हिँडडुलमा निकै समस्या खेप्ने गरेका छन् ।