‘ऐश्वर्य’ रमेश उप्रेतीको उत्कृष्ट पुनरागमन, प्रशान्तको भाग्य उदय

सहयात्रा टिभी

काठमाण्ड‌ौँ । छठ पर्वको दिनबाट नेपाली हलमा प्रदर्शन आरम्भ गरेको वर्षको प्रतिक्षीत फिल्म ‘ऐश्वर्य’ले तिबेला दर्शकको राम्रो साथ पाइरहेको छ । प्रदर्शनको तीन दिनमा झण्डै २ करोड कलेक्सन गरेको ‘ऐश्वर्य’को मेकिङ र सिनेम्याटोग्राफीलाई दर्शकले उत्कृष्ट भनेका छन् । यो फिल्मबाट नव-नायिका दीपिका प्रसाईँले संभावना देखाएकी छिन् भने नायक रमेश उप्रेतीले यसअघिका फिल्मभन्दा ‘ऐश्वर्य’बाट गज्जबकै तारिफ पाएका छन् ।

रमेश र दीपिकाबाहेक दर्शकले फिल्मका दुई पात्रको निक्कै तारिफ गरे, नायिका केकी अधिकारी र खलनायक प्रशान्त ताम्राकार । सुनिल थापा अर्थात्, राते काइलापछि नेपाली फिल्मका खतरनाक भिलेनको रुपमा ‘ऐश्वर्य’बाट प्रशान्त ताम्राकारलाई हेरिएको छ । चकलेटी अनुहार र बोल्ड आवाजले प्रशान्तलाई ‘ऐश्वर्य’को हिरो बनाएको छ ।

फिल्मको सबैभन्दा बलियो पक्षमध्ये प्रशान्तको अभिनय पनि एक हो । उनी जब डरलाग्दो आवाजमा प्रचलित नेपाली संवादहरु बोल्छन् तब हलमा ताली र सिठ्ठीको कमी हुँदैन । फिल्मको ट्रेलरबाटै उनी ‘ह्यान्डसम भिलेन’को रुपमा कहलिएका थिए ।

यस्तै, फिल्मको मेरुदण्ड हुन्, नायिका केकी अधिकारी । केकीको चरित्रले मूल कथालाई मूर्त बनाउन उल्लेखनीय योगदान गरेको छ । उनको चरित्र उनकै लागि लेखिएझैँ लाग्छ । केकीको अभिनयले फिल्मका सबै पात्र भुलाउँछ । गीत-संगीत र टीजरमा स्थान नपाएकी केकीले फिल्मको सेकेन्ड हाफपछिको सबै जिम्मेवारी आफैले उठाएकी छिन् ।

पहिलो हाफपछि दर्शकले केकीलाई मात्र खोज्दछन् । उनको चुलबुले स्वभावले दर्शकलाई आँखा चिम्लन दिँदैन । आफ्नो ड्रिम व्वाई भन्दै रमेश उप्रेतीलाई पाउन उनले गरेका हर्कतहरु कम्ता रमाइला छैनन् । केकी आफ्नो भूमिकामार्फत दर्शकलाई ‘होल्ड’ गर्न सफल छिन् । फिल्म हेरेपछि दर्शकले केकी र प्रशान्तले ‘ऐश्वर्य’ धानेको प्रतिक्रिया दिएका छन् ।

दीवाकर भट्टराईको लेखन तथा निर्देशनमा तयार भएको फिल्ममा केकी, रमेश, प्रशान्त र दीपिकासंगै बिकाश खतिवडा, अर्जुन श्रेष्ठ , निर्मल शर्मा, केशव भट्टराई , अर्जुन जंग शाही लगायतको अभिनय रहेको छ ।

प्रकाशित : 1 November, 2017

प्रतिक्रिया दिनुहोस्