शीर्ष नेता कहाँवाट को संग प्रतिस्पर्धामा ?

सहयात्रा टिभी

काठमाडौं । प्रमुख राजनीतिक दल देखि साना राजनीतिक दलका नेताले आआफ्नो क्षेत्रबाट उम्मेदवारी दर्ता गराएका छन् । नेपाली कांग्रेसका सभापतिसमेत रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवाले वारेशनामा गणेश पन्तमार्फत डडेल्धुरामा आफ्नो मनोनयन दर्ता गराउनुभएको छ । उहाँको प्रतिस्पर्धीका रुपमा वाम गठबन्धनका तर्फबाट खगराज भट्टले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँ क्षेत्र नं १ बाट उम्मेदवारी दर्ता गराउनुभएको छ । टिकट वितरणमा असन्तुष्टि जनाउँदै कांग्रेसकै अर्का नेता गोविन्दराज जोशीले समेत सोही क्षेत्रबाट प्रतिस्पर्धी हुनुहुन्छ । वाम गठबन्धनका तर्फबाट किसान श्रेष्ठ उम्मेदवार हुनुहुन्छ ।

कांग्रेसका महामन्त्री शशांक कोइराला नवलपरासी–१ बाट उम्मेदवार बन्नुभएको छ । कांग्रेसका अर्का नेता विमलेन्द्र निधि धनुषा क्षेत्र नं ३ बाट उम्मेदवार हुनुभएको छ । उहाँको प्रतिस्पर्धीका रुपमा वाम गठबन्धनले रामसिंह यादवलाई प्रतिस्पर्धामा उतारेको छ भने राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोसमेत सोही क्षेत्रबाट उम्मेदवार हुनुहुन्छ ।
यसैगरी कांग्रेस नेता कृष्ण सिटौला झापा–३, विजयकुमार गच्छदार सुनसरी–३, मीनेन्द्र रिजाल मोरङ–२ बाट चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ ।

यस्तै कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले काठमाडौँ– १ बाट उम्मेदवारी दिनुभएको छ । उहाँका प्रतिस्पर्धीमा वाम गठबन्धनबाट विद्यार्थी नेता अनिल शर्मा र विवेकशील साझा पार्टीका रवीन्द्र मिश्र चुनावी मैदानमा हुनुहुन्छ । काठमाडौँ क्षेत्र नं ४ मा कांग्रेसका युवा नेता गगन थापा र वाम गठबन्धनका तर्फबाट राजन भट्टराई प्रतिस्पर्धी हुनुहुन्छ ।

नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले झापा क्षेत्र नं ५ बाट उम्मेदवारी दर्ता गराउनुभएको छ । उहाँको प्रतिस्पर्धीका रुपमा काँग्रेसले खगेन्द्र अधिकारीलाई उम्मेदवार बनाएको छ । अधिकारी त्रिचन्द्र क्याम्पसको प्राध्यापकबाट राजीनामा दिएर उम्मेदवार बन्नुभएको हो ।

यस्तै इलाम क्षेत्र नं १ बाट एमालेका वरिष्ठ नेता झलनाथ खनाल र सोही जिल्लाको क्षेत्र नं २ बाट सुवास नेम्वाङले उम्मेदवारी दर्ता गराउनुभएको छ । नेता खनालको प्रतिस्पर्धीका रुपमा कांग्रेसले भूपेन्द्र कट्टेललाई उम्मेदवार बनाएको छ भने पूर्वसभामुखसमेत रहनुभएका नेम्वाङको प्रतिस्पर्धीका रुपमा कांग्रेसले केशव थापालाई उम्मेदवार बनाएको छ ।

यस्तै काठमाडौँ क्षेत्र नं २ मा वाम गठबन्धनका तर्फबाट पूर्वप्रधानमन्त्री माधकुमार नेपालले आफ्नो उम्मेदवारी दिनुभएको छ । उहाँको प्रतिस्पर्धीका रुपमा कांग्रेसले दीपक कुइँकेललाई उम्मेदवार बनाएको छ । काठमाडौँ क्षेत्र नं ५ बाट वाम गठबन्धनको साझा उम्मेदवारका रुपमा एमाले महासचिव ईश्वर पोखरेल र काँग्रेसका तर्फबाट डा प्रकाशशरण महत उम्मेदवार हुनुहुन्छ ।

एमालेका उपाध्यक्ष वामदेव गौतमले बर्दिया क्षेत्र नं १ बाट उम्मेदवारी दिनुभएको छ । गौतमको प्रतिस्पर्धीका रुपमा काँग्रेसले सिँचाइ मन्त्रीसमेत रहनुभएका सञ्जय गौतमलाई उम्मेदवार बनाएको छ । वाम गठन्धनका तर्फबाट एमाले उपाध्यक्ष भीम रावल अछाम १ बाट उम्मेदवार हुनुहुन्छ भने उहाँको प्रतिस्पर्धीका रुपमा काँग्रेसबाट भरतकुमार स्वाँर चुनावी मैदानमा हुनुहुन्छ ।
एमालेका उपमहासचिव विष्णु पौडेल रुपन्देही क्षेत्र नं ३ बाट उम्मेदवार हुनुहुन्छ भने उहाँको प्रतिस्पर्धीका रुपमा युवराज गिरीलाई काँग्रेसले उम्मेदवार बनाएको छ ।

यसैगरी पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवन क्षेत्र नं ३ बाट उम्मेदवारी दर्ता गराउनुभएको छ । उहाँका प्रतिस्पर्धीका रुपमा काँग्रेसको समर्थनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का नेता विक्रम पाण्डेले उम्मेदवारी दिनुभएको छ ।

नेकपा(माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पहिलो चरणको निर्वाचनका लागि गोरखा क्षेत्र नं १ बाट उम्मेदवारी दर्ता गराईसक्नुभएको छ । माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा दाङ निर्वाचन क्षेत्र नं २ बाट उम्मेदवारी दर्ता गराउनुभएको छ ।
वाम गठबन्धनको साझा उम्मेदवारका रुपमा रहनुभएका महराको प्रतिस्पर्धीका रुपमा काँग्रेसले राजु खनाललाई मैदानमा उतारेको छ । यस्तै माओवादीका नेता एवं पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी अर्घाखाँचीबाट उम्मेदवार बन्नुभएको छ । उहाँका प्रतिस्पर्धीका रुपमा रामबहादुर विसी हुनुहुन्छ ।

माओवादीका प्रवक्ता पम्फा भुसाल ललितपुर क्षेत्र नं ३ बाट, सोहि पार्टीका नेता गिरिराजमणि पोखरेल महोत्तरी– १ बाट, हितमान शाक्य काठमाडौँ– १० बाट र झक्कु सुवेदी काठमाडौँ– ६ बाट उम्मेदवार हुनुहुन्छ । माओवादी केन्द्रका अर्का नेता मातृकाप्रसाद यादव धनुषा क्षेत्र नं १ बाट उम्मेदवार बन्नुभएको छ भने उहाँको प्रतिस्पर्धीका रुपमा काँग्रेसका आनन्दप्रसाद ढुंगाना हुनुहुन्छ ।
धनुषा–२ बाट वाम गठबन्धनको साझा उम्मेदवारका रुपमा रामचन्द्र झा उम्मेदवार हुनुहुन्छ । उहाँका प्रतिस्पर्धीका रुपमा कृषि विकासमन्त्रीसमेत रहनुभएका काँग्रेसका नेता रामकृष्ण यादव हुनुहुन्छ । पूर्वसूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्की झापा क्षेत्र नं १ बाट उम्मेदवार हुनुहुन्छ । उहाँका प्रतिस्पर्धीका रुपमा काँग्रेसका युवा नेता विश्वप्रकाश शर्मा हुनुहुन्छ ।

माओवादी केन्द्रा नेतृ उर्मीला अर्याल पर्सा– ४ बाट र नेता प्रभु साह रौतहट– ३ बाट उम्मेदवार बन्नुभएको छ । यस्तै संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सप्तरी निर्वाचन क्षेत्र नं २ बाट उम्मेदवारी दर्ता गराउनुभएको छ । उहाँको प्रतिस्पर्धीका रुपमा वाम गठबन्धनका तर्फबाट उमेशकुमार यादव, काँग्रेसबाट सकलदेव सुतीहार र स्वतन्त्ररुपमा राजपाका तर्फबाट जयप्रकाश ठाकुरले उम्मेदवारी दिनुभएको छ ।

सोही पार्टीका अर्का नेता अशोक राई काँग्रेसको समर्थनमा सुनसरी क्षेत्र नं १ बाट उम्मेदवार बन्नुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं उपप्रधानमन्त्री कमल थापाले काँग्रेससहितको समर्थनमा मकवानपुर क्षेत्र नं १ बाट उम्मेदवारी दर्ता गराउनुभएको छ । उहाँको प्रतिस्पर्धीका रुपमा वाम गठबन्धनले कृष्णप्रसाद दाहाललाई उम्मेदवार बनाएको छ ।

राजपाका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर महोत्तरी– ३ बाट प्रदेशसभा सदस्यका लागि उम्मेदवार हुनुहुन्छ । उहाँका प्रतिस्पर्धीका रुपमा सोही दलका सांसद चन्द्रेश्वर झा स्वतन्त्र रुपमा उम्मेदवारी दिनुभएको छ ।

रासस

प्रकाशित : 3 November, 2017

प्रतिक्रिया दिनुहोस्