प्रतिनिधिसभाका लागि ५२२ र प्रदेशसभाका लागि ८८३ को उम्मेदवारी

सहयात्रा टिभी

काठमाडौं । निर्वाचन आयोगले दोस्रो चरणमा हुने आगामी मंसिर २१ गते को प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनकोे प्रत्यक्षतर्फको उम्मेदवार मनोनयन दर्ता शान्तिपूर्ण र उत्साहजनक सहभागितामा सम्पन्न भएको जनाएको छ ।

निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेइओसी) बाट प्राप्त जानकारी अनुसार प्रतिनिधि सभातर्फ ५२२ र प्रदेश सभा सदस्यतर्फ ८८३ को उम्मेदवारी परेको आयोगले पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ । कतिपय जिल्लामा उम्मेदवारी दर्ताको क्रम साँझसम्म जारी रहेकाले यो संख्या अझै केही बढ्न सक्ने आयोगले जनाएको छ ।

दोस्रो चरणअन्तर्गत ४५ जिल्लाका प्रतिनिधि सभातर्फ १२८ निर्वाचन क्षेत्र र प्रदेशसभा तर्फ २५६ निर्वाचन क्षेत्रका लागि बिहीबार बिहान १० बजेदेखि अपराह्न ५ः०० बजेसम्म मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ताको व्यवस्था गरिएको थियो ।

उम्मेदवारी मनोनयन दर्ता गर्ने क्रममा शुरुमा स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ता गराउनुभएको थियो भने मध्याह्नपछि मात्रै धेरैजसो राजनीतिक दलका उम्मेदवारले उम्मेदवारी दर्ता गराउनुभयो । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा उम्मेदवारको मनोनयन गर्नेमा महिलाको संख्या कमै देखिए पनि उम्मेदवारी दर्ताका लागि महिला मतदाताको उपस्थिति भने उत्साहजनक रहेको देखिन्थ्यो । उम्मेदवारको मनोनयनपत्र दर्ता भएपछि सबै उम्मेदवारलाई निर्वाचन आचारसंहिता लागू हुने भएकाले सबै राजनीतिक दल तथा उम्मेदवारबाट निर्वाचन आचारसंहितको पूर्ण पालना हुने विश्वास लिएको आयोगले जनाएको छ ।

प्रकाशित : 3 November, 2017

प्रतिक्रिया दिनुहोस्