केपी ओली प्रचण्ड माधव नेपाल एमाले


प्रमुख ३ दलबाट जम्मा १८ महिला उम्मेदवार

सहयात्रा टिभी

काठमाडौं । पहिलो चरणअन्तर्गत प्रतिनिधिसभा सदस्यका लागि हुने चुनावमा प्रत्यक्षतर्फ न्यून महिला उम्मेदवार उठाएका प्रमुख तीन दलले दोस्रो चरणको चुनावमा भने तुलनात्मकरुपमा केही बढी महिला उम्मेदवार उठाएका छन् ।

पहिलो चरणअन्तर्गत प्रतिनिधिसभा सदस्यका लागि ३७ क्षेत्रमा हुने चुनावमा नेपाली कांग्रेसबाट दुई र नेकपा माओवादी केन्द्रबाट एक गरी जम्मा तीन जना मात्रै महिला उम्मेदवार उठाएका थिए । तर दोस्रो चरणअन्तर्गत १ सय २८ क्षेत्रमा हुने चुनावमा प्रमुख तीन दलबाट १५ जना महिलाले बिहीबार उम्मेदवारी मनोनयन दर्ता गराउँदै चुनावी मैदानमा उत्रिएका छन् ।

दोस्रो चरणअन्तर्गत हुने प्रतिनिधि सभा सदस्य चुनावमा नेपाली कांग्रेसबाट सबैभन्दा बढी सात जना, नेकपा एमालेबाट पाँच र नेकपा माओवादी केन्द्रबाट तीन जना महिला उम्मेदवारले मनोनयन दर्ता गराउनुभएको छ ।

यसरी कांग्रेसबाट उम्मेदवारी दिनेमा तेह्रथुमबाट सीता गुरुङ, महोत्तरी–२ बाट किरण यादव, मकवानपुर–२ बाट महालक्ष्मी (डीना) उपाध्याय, काठमाडौं–३ बाट अम्बिका बस्नेत, दाङ–१ बाट सुशीला चौधरी, कैलाली–१ बाट ईश्वरीदेवी न्यौपाने र कैलाली–५ बाट डा आरजु राणा हुनुहुन्छ ।

यसैगरी नेकपा एमालेले झापा–२ बाट पवित्रा खरेल, सुनसरी–३ बाट भगवती चौधरी, उदयपुर–१ बाट मञ्जु चौधरी, स्याङ्जा–२ बाट पद्माकुमारी अर्याल र कैलाली–१ बाट गरिमा शाहलाई उम्मेदवार बनाएको छ । यस्तै नेकपा माओवादी केन्द्रले ललितपुर–३ बाट पम्फा भुसाल, पर्सा–४ बाट उर्मीला अर्याल र कञ्चनपुर–१ बाट बिना मगरलाई उम्मेदवार बनाएको छ ।

तीमध्ये कैलाली–१ मा महिलारमहिला उम्मेदवारबिच नै रोचक प्रतिस्पर्धा हुने भएको छ । त्यस क्षेत्रमा कांग्रेसकातर्फबाट ईश्वरीदेवी न्यौपाने र वाम गठबन्धनकोतर्फबाट एमालेका गरिमा शाहले उम्मेदवारी दिनुभएको छ । यसअघि समानुपातिकबाट सांसद रहनुभएका दुवै जना अहिले प्रत्यक्षबाट उम्मेदवारी दिनुभएको हो ।

यस्तै केहीअघि राप्रपा छोडी नेकपा एमाले प्रवेश गर्नुभएकी गायिका तथा सञ्चारकर्मी कोमल ओलीले दाङ–३ बाट तथा पूर्वसांसद सञ्जय साहकी पत्नी रंगीला साहले धनुषा–३ बाट स्वतन्त्र उम्मेदवारी घोषणा गर्नुभएको छ ।

यसअघि पहिलो चरणअन्तर्गत प्रतिनिधि सभा सदस्यका लागि हुने चुनावमा कांग्रेसले खोटाङबाट सरस्वती बजिमय र बागलुङ–१ बाट चम्पादेवी खड्का तथा माओवादीकी कमला रोक्का पूर्वी रुकुमबाट उम्मेदवारी दिनुभएको थियो ।

समग्रमा प्रतिनिधि सभाको १ सय ६५ सिटका लागि प्रमुख तीन दलबाट पहिलो चरणमा तीन र दोस्रो चरणमा १५ गरी कुल १८ जना मात्रै महिला उम्मेदवारी परेको छ । जसमा सबैभन्दा बढी कांगे्रसबाट नौ जना र वाम गठबन्धनका एमालेका पाँच र माओवादी केन्द्रका चार जना गरी नौ जनाले उम्मेदवारी दिएका छन् ।
संविधानले संसद्मा ३३ प्रतिशत महिला प्रतिनिधित्व अनिवार्य गरेकाले प्रत्यक्षतर्फ महिलाले टिकट कम पाएपछि अब सो संख्या समानुपातिकबाट क्षतिपूर्ति गर्नुपर्ने बाध्यता दललाई आउनेछ ।
चुनाव जित्नेमा महिला उम्मेदवार ढुक्क
ललितपुर–३ बाट उम्मेदवारी दिनुभएकी माओवादी केन्द्रकी प्रवक्तासमेत रहनुभएकी पम्फा भुसालले आफ्नो जित निश्चित रहेको बताउनुहन्छ । यसअघि पनि विसं २०६४ को संविधानसभा चुनावमा आफूले सोही क्षेत्रबाट जितेको र यसपटक वाम गठबन्धन भएका कारण झनै जित सुनिश्चित रहेको उहाँको भनाइ छ । आफू सधैँ सो क्षेत्रको विकास निर्माण र जनताको सुख, दुःखमा साथ रहेकाले पनि आफू जित्नेमा ढुक्क रहेको उहाँले बताउनुभयो । महिलाको हकअधिकारको आवाज बुलन्द गर्नुका साथै महिलाले पनि देशको नेतृत्व लिन सक्षम छन् भन्ने सन्देश दिनका लागिसमेत आफ्नो जित आवश्यक रहेकोमा उहाँले जोड दिनुभयो ।

मकवानपुर–२ बाट कांग्रेसको उम्मेदवार बन्नुभएकी काँग्रेस केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय (डीना)ले आफ्नो उम्मेदवारीले मकवानपुरवासी र सो क्षेत्रका महिलामा उत्साह थपिएकाले आफ्नो जित सुनिश्चित रहेको बताउनुभयो । आफू विसं २०४८ मा पनि सोही क्षेत्रबाट चुनाव लडिसकेको र केन्द्रीय तहमा रहेर राजनीति गरिरहेकाले सो क्षेत्रको विकासका लागि आफूप्रति सबैको आशा, भरोसा र सद्भाव रहेको उहाँको भनाइ छ ।

कैलाली–१ बाट उम्मेदवार रहनुभएका एमालेका केन्द्रीय सदस्य गरिमा शाहले आफ्नो पार्टीले अघि सारेको आर्थिक समृद्धि र राष्ट्रिय एकताको एजेण्डा तथा वाम गठबन्धनका कारण आफ्नो जित सुनिश्चित रहेको धारणा व्यक्त गर्नुभयो । आफूले यसअघि संविधानसभामा संविधान मस्यौदा लेखन समितिको सदस्यकारुपमा खेलेको भूमिका, कैलालीको विकासका लागि तथा ७ नं प्रदेशलाई पर्यटन क्षेत्रका रुपमा विकास गर्न खेलेको भूमिकाका कारण साझा व्यक्तित्वका रुपमा यो क्षेत्रमा आफूले पहिचान बनाइसकेको उहाँको भनाइ छ ।

रासस

प्रकाशित : 3 November, 2017

प्रतिक्रिया दिनुहोस्