केपी ओली प्रचण्ड माधव नेपाल एमाले


बदलियो मतदान केन्द्रको ‘डिजाइन’ तीन वटा मतपत्रका लागि तीन वटै मतपेटिका

सहयात्रा टिभी

काठमाण्डौं। निर्वाचन आयोगले आसन्नत प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि मतदान केन्द्रको ‘डिजाइन’ परिवर्तन गरेको छ ।निर्वाचनमा तीन वटा मतपत्र प्रयोग हुने भएपछि निर्वाचन आयोगले सोहीअनुसार मतदान केन्द्रहरूको ले–आउट डिजाइन बदलेको हो । आयोगले निर्वाचनका लागि प्रत्येक मतदान केन्द्रमा मतपत्रमा स्वस्तिक चिन्ह् लगाउने तीन वटा गोप्यस्थल र तीन वटै मतपेटिका राख्ने निर्णय गरेकोे छ ।  आउँदो निर्वाचनमा मतदाताले तीन वटा मतपत्रबाट चार स्थानमा मतदान गरी तीन वटा फरक–फरक मतपेटिकामा खसाल्नुपर्ने भएको छ । त्यस्तो अवस्थामा मतदातामा अन्योल नहोस् भनेर एउटा सभाको मतपत्र अर्को सभाको मतपेटिकामा नखसोस् भन्नेमा आयोगले विशेष ध्यान पु¥याउनु पर्ने देखिएको छ ।

निर्वाचन आयुक्त नरेन्द्र दाहालले मतदान प्रक्रियालाई मतदातामैत्री बनाउन मतदान केन्द्रको व्यवस्थापन परिमार्जन गरिएको जानकारी दिए । यसअघि दुई वटा मतपत्र र दुई वटै मतपेटिकाबाट निर्वाचन गराउने तयारी भएकोमा त्यहीअनुसार मतदान केन्द्रको डिजाइन गरिएको थियो । मतपत्र तीन वटा हुने भएपछि केन्द्रको डिजाइन पनि परिवर्तन गरिएको हो । ‘मतदातालाई सहज र  मत बदर नहोस् भनेर मतदाता शिक्षा र कर्मचारी तालिममा समेत जोड दिंदै मतदान केन्द्रको डिजाइन परिवर्तन गरिएको उनले बताए ।यसरी गर्ने मतदान मतदान केन्द्र प्रवेशसँगै मतदाताले पहिलो डेस्कमा मतदाता नामावली रुजु गराउनु पर्नेछ । मतदाताको नङमा मसी लगाउने काम त्यहीं हुनेछ । मतादाताले त्यही डेक्सबाट प्रत्यक्षतर्फ प्रदेशसभाको मतपत्र पाउने छन् । पहिलो घेरा (गोप्य कक्ष) प्रवेश गरी स्वस्तिक चिन्ह् लगाएर नजिकैको प्रदेशसभाको मतपेटिकामा मत खसालिसकेपछि अर्को डेस्कबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फको मतपत्र पाइने छ । त्यहाँ पनि फरक गोप्य कक्ष र फरक मतपेटिका प्रयोग हुनेछन् । तेस्रो डेस्कबाट मतदाताले समानुपातिकतर्फको मतपत्र पाउने छन् ।

समानुपातिकतर्फ एउटै पानाको मतपत्रमा माथि प्रतिनिधिसभा र तल प्रदेशसभाका लागि निर्वाचन चिन्ह् हुनेछन् । मतदाताले त्यहाँ दुवै सभाका लागि अलग–अलग स्वस्तिक चिन्ह् लगाउनुपर्ने हुन्छ । समानुपातिकका लागि पनि प्रदेश र प्रतिनिधिसभाका लागि अलग्गै गोप्य कक्ष र अलग्गै मतपेटिका हुनेछन् । तीनथरी मतपत्र तीन रङ्गका नै छन् । प्रत्यक्षतर्फ सेतो पानामा कालो रङ्गले चिन्ह् छापिएको प्रदेशसभाको, हरियो रङ्गले चिन्ह् छापिएको प्रदेशसभाको र रातो रङ्गले चिन्ह् छापिएको समानुपातिकतर्फका मतपत्र छन् । आयुक्त दाहालले मतदातालाई सजिलो होस् भनेर मतपत्रको रङ्गअनुसार तीनवटै मतपेटिकाको रङ्ग समेत फरक पारिएको बताए । ‘मतपेटिकालाई मतपत्रअनुसार तीनवटा छुट्टा–छुट्टै रङ्गका कागजबाट बेरिने छ’–दाहालले भने– ‘हातमा जुन रङ्गको मतपत्र छ, त्यही रङ्गको मतपेटिकामा खसाल्नु पर्छ, यसले मतदातालाई सजिलो हुन्छ ।’

मतदान केन्द्र प्रवेश गरेपछि मतदाताले तीनवटा मतपत्र पाउने र तीनवटै मतपत्रमा मतदान गरी फरक–फरक मतपेटिकामा खसाल्ने अनि मात्रै बाहिर आउने गरी निकाससहितको घेराबेरा हुने आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए । कुनै मतदाताले कुनै सभाको मत नखसाले त्यसको छुट्टै रेकर्ड राख्ने व्यवस्था समेत केन्द्रमै मिलाइएको छ । देशभर १९ हजार ९ सय ८ मतदान केन्द्र छन् । तीन वटा मतपत्रको व्यवस्थासँगै प्रत्येक केन्द्रमा एक जना थप कर्मचारी व्यवस्था गरिएको छ । एक हजार मतदाता भएका केन्द्रमा मतदान अधिकृतले एक जना थप कार्यालय सहयोगी पाउने छन् । प्रायजसो मतदान केन्द्रमा एक हजारभित्रै मतदाता छन् । सबैभन्दा धेरै १ हजार ६४ सम्म मतदाता भएको मतदान केन्द्र छन् ।

मतदान केन्द्रमा मतपेटिका थपिएसँगै सुरक्षा संवेदनशीलता समेत बढ्ने भएकाले त्यहीअनुसार सुरक्षा व्यवस्था मिलाउन आयोगले सुरक्षा निकायलाई भनिसकेको छ । करीब २० हजार मतदान केन्द्रलाई ६० हजार मतपेटिका चाहिन्छ । भर्खरै स्थानीय तह निर्वाचन सम्पन्न भएको र त्यसबेला ३० हजार मतपेटिका खरिद समेत गरिएकाले यतिबेला आयोगसँग ८० हजार हाराहारी मतपेटिका छ ।  मंसिर १० गते हुने पहिलो र २१ गते हुने दोस्रो चरण दुवै निर्वाचनको मतगणना एकैसाथ हुने आयुक्त दाहालले बताए । उनले पहिलो चरणमा निर्वाचन सम्पन्न भएका निर्वाचन क्षेत्रका मतपेटिका जिल्ला सदरमुकाममा संकलन गरी मुख्य निर्वाचन अधिकृतको जिम्मामा राखिने र दोस्रो चरणको निर्वाचन सम्पन्न भए लगत्तै दुवैको गणना थालिने जानकारी दिए ।

प्रकाशित : 5 November, 2017

प्रतिक्रिया दिनुहोस्