एउटै व्यक्ति दुई पार्टीको बन्दसूचीमा ! गंगा चौधरी गएकै हुन त बाबुरालाई छाडेर ?

सहयात्रा टिभी

काठमाण्डौं। निकै ठूलो तामझामका साथ बाबुराम भट्टराईको नयाँ शक्ति पार्टीमा प्रवेश गरेकी पूर्व सभासद गंगा चौधरी सत्गौवाको नाम नेकपा एमालेको बन्दसूचीमा परेको पाइएको छ । नयाँ शक्ति पार्टीले आफ्नो बन्दसूचीमा समेत राखेको गंगा चौधरीको नाम एकाएक एमालेको बन्दसूचीमा पनि देखिएपछि राजनीति क्षेत्रका जानकारहरुले प्रश्नसँगै उनको नाम चर्चाको विषय बनाएका छन् ।

एउटै व्यक्तिको नाम दुई वटा पार्टीको बन्दसूचीमा देखिएपछि राजनीति वृत्तमा चौधरी नयाँ शक्ति कि एमालेकी नेतृ हुन् भन्ने चर्चा शुरु भएको  छ । थरुहट तराई पार्टीका तर्फबाट दोस्रो संविधानसभामा सभासद बनेकी गंगा केही समयअघि तामझामका साथ डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिमा प्रवेश गरेकी थिइन् । त्यसपछि उनी दाङ, कैलालीलगायतका जिल्लामा डा. भट्टराईसँगै पार्टीको कार्यक्रममा हिंडिन् । बाबुराम भट्टराईको फेसबुकमा अपलोड गरिएका तस्वीरहरुमा गंगा चौधरी पनि बाक्लै देखिन्थिन् । तर, जब प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको तिथि नजिकियो, गंगाले एमाले नेता विष्णु पौडेल, शंकर पोखरेल, सुवासचन्द्र नेम्वाङ, वामदेव गौतम र केपी ओलीसँग सुटुक्कै भेटघाट गरिन् ।

एमाले नेताहरुसँग उनले एमालेका तर्फबाट समानुपातिक सांसद बनाई दिन आग्रह गरेको जानकार बताउँछन् । अन्ततः एमालेले नयाँशक्तिकी नेतृ गंगा चौधरी सत्गौवालाई कुनै होहल्ला नगरिकन आफ्नो पार्टीको समानुपातिक सूचीमा राख्यो । उनलाई एमालेले थारु क्लष्टरको तेस्रो नम्बरमा राखेको छ, जसले गर्दा उनी सांसद बन्ने लगभग पक्का भएको छ । आफ्नो पार्टीमा प्रवेश गरिसकेकी गंगाले एमालेसँग भित्रि साँठगाँठ गरेको डा. भट्टराईले पत्तै पाएनन् ।

यही कारण नयाँ शक्ति पार्टीले पनि समानुपातिकको सूचीमा गंगा चौधरी सत्गौवाको चढायो र निर्वाचन आयोगमा सूची बुझायो । दुई पार्टीको बन्दसूचीमा परेकी चौधरीलाई यो कसरी भयो भनि चासो राख्दा भनिन्–‘‘मैले नयाँशक्ति पार्टीको सूचीबाट आफ्नो नाम हटाउन निर्वाचन आयोगमा निवेदन दिइसकेकी छु, शायद भोलिसम्ममा मेरो नाम हट्छ होला ।’

आफू नयाँ शक्ति पार्टीबाट वाम गठबन्धनका रुपमा एमालेको समानुपातिक सूचीमा बसेको चौधरीको दाबी छ । उनले भनिन्–‘बाबुरामजी पनि वाम गठबन्धनमा आउनु भएको थियो, त्यही भएर म पनि समानुपातिक सूचीमा गएँ, एकछिन जाने र एकछिनमा निस्कने गर्दा राम्रो हुँदैन ।’ आफूले नयाँशक्ति पार्टीबाट प्रत्यक्षतर्फको चुनाव लड्न चाहेको चौधरीले बताइन् । उनले थपिन्–‘मैले दाङ १ बाट प्रत्यक्ष चुनाव लड्छु भनेर बाबुरामजीलाई भनेकी थिएँ, तर नदिएकोमा चित्त दुःखेको छ ।’

नयाँ शक्तिको समानुपातिक सूचीमा आफूलाई राखे पनि त्यहाँबाट सांसद भन्ने निश्चित नरहेकाले आफूले एमाले रोजेको उनले बताइन् ।

प्रकाशित : 5 November, 2017

प्रतिक्रिया दिनुहोस्